भारतमा कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापीको प्रयोग बन्द
बीबीसी, ४ जेठ । भारतमा अबदेखि कोरोना सङ्क्रमितको उपचारमा प्लाज्मा थेरापी प्रयोग नहुने भएको छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले कोरोना सङ्क्रमितको उपचारका लागि प्लाज्मा थेरापी बन्द गर्ने बताएको हो ।
काउन्सिलले उपचारका लागि क्लिनिकल गाइडलाइन्समा परिवर्तन गर्दै प्लाज्मा थेरापी बन्द गर्ने निर्णय गरेको हो ।
आईसीएमआरका अनुसार प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको स्वास्थ्यमा सुधार हुने कुनै प्रमाण फेला नपरेको हुँदा यस्तो निर्णय गरिएको हो ।
आईसीएमआरका नेशनल टास्क फोर्स र स्वास्थ्य मन्त्रालयका विशेषज्ञहरुले कोरोनाको उपचारसँग सम्बन्धीत गाइडलाइन बेला–बेला परिवर्तन गरिरहन्छन् । तर, रजिस्टर्ड डाक्टरहरुका लागि टास्क फोर्सको सिफारिसको पालन गर्नैपर्ने बाध्यता भने हुँदैन ।
हालै मात्र मेडिकल जर्नल द लेसेन्टमा ५ हजार कोरोना सङ्क्रमित बिरामीमा गरिएको परीक्षणमा आधारित अनुसन्धान प्रकाशित भएको थियो ।
जसमा प्लाज्मा थेरापी कोरोना सङ्क्रमित बिरामीको उपचारमा खासै फाइदाजनक नरहेको उल्लेख गरिएको थियो । तर, आईसीएमआरको क्लिनिकल गाइडलाइनमा सामान्य लक्षणका लागि भने आइभरमेक्टिन र हाइड्रोक्सोक्लोरोक्वीन प्रयोग जारी राख्न भनेको छ ।