भारतमा झन्डै २५ दिनपछि ३ लाखभन्दा कममा कोरोना संक्रमण, मृत्युदर अझै उकालो लाग्ने क्रममा
भारत, ३ जेठ । भारतमा झन्डै १ महिनापछि कोरोना संक्रमितको संख्या ३ लाखभन्दा कममा झरेको छ ।
पछिल्लो झन्डै १ महिनादेखि दैनिक ३ देखि ४ लाखको दरले संक्रमित थपिँदै आएको भारतमा गत २४ घन्टामा ३ लाखभन्दा कममा संक्रमण पुष्टि भएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत २४ घन्टामा भारतमा २ लाख ८१ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन राहतको विषय बनेको छ । योसँगै भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ करोड ४९ लाख ६५ हजार ४ सय ६३ पुगेको छ ।
भारतमा दैनिक कोरोना संक्रमणको दरमा कमी आएपनि मृत्यु हुने दर भने अझै ओरालो लाग्न सकेको छैन । भारतमा पछिल्लो समय दैनिक ४ हजारका दरले कोरोना संक्रमितको मृत्यु हुने गरेको छ ।
गत २४ घन्टामा थप ४ हजार ९२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७४ हजार ४ सय ११ पुगेको छ ।
यस्तै गत २४ घन्टामा भारतमा कोरोनाका कारण संक्रमित भएकामध्ये ३ लाख ७८ हजार ७ सय ४१ जना स्वस्थ भइका छन् । योसँगै भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ करोड ११ लाख ७४ हजार ७६ पुगेको छ ।
भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएदेखि नै स्वास्थ्य अवस्था अस्तव्यस्त बनेको छ भने संक्रमित थपिने र मृत्यु हुने क्रम उकालो लाग्दै आएको छ । कोरोनाको दोस्रो लहरले भारत विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो ।