भारतमा कोभिसिल्ड खोपको दोस्रो डोज लगाउने अवधी बढ्यो



Download our app to get more features

एजेन्सी, ३१ बैशाख । भारत सरकारले कोभिडविरुद्धको खोप कोभिसिल्डको पहिलो र दोस्रो डोज लगाउने अवधी बढाएको छ । नयाँ व्यवस्था अनुसार अब त्यहाँ कोभिसिल्डको पहिलो डोज लगाएको व्यक्तिले दोस्रो डोज १२ देखि १६ हप्तामा लगाउन भनिएको छ ।

यसअघि भारतमा कोभिसिल्डको पहिलो डोज लगाएको ६ देखि ८ हप्तामा दोस्रो डोज लगाउने व्यवस्था थियो । विहीबार कोभिड -१९ कार्य समूहको सिफारिसको आधारमा केन्द्रीय स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय लिएको हो ।

मन्त्रालयले यो व्यवस्था कोभिसिल्ड खोपका लागि मात्रै रहेको स्पष्ट पारेको छ । त्यहाँ अर्को खोप कोभ्याक्सिन पनि लगाइएको छ । त्यसको अन्तर भने परिवर्तन नगरिएको मन्त्रालयले बताएको छ ।

कोभिसिल्ड खोपको अनुसन्धान तथा विकास गरेको अक्सफोर्ड युनिभर्सिटी र एस्टाजेनेकाबाट प्राप्त सुझावको आधारमा कोभिड -१९ कार्य समूहले पहिलो र दोस्रो डोज खोप अन्तर बढाउन भनेको र सोही अनुसार आफूले सिफारिसलाई कार्यान्वयनमा ल्याएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

नेपालमा भने कोभिसिल्ड खोपको पहिलो र दोस्रो डोज लगाउने अन्तर ८ देखि १२ हप्ता तोकिएको छ ।
 

Last modified on 2021-05-14 15:37:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts