भारतमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २ करोड नाघ्यो
थपिए ३ लाख ४३ हजारभन्दा बढी नयाँ सङ्क्रमित
भारत, ३१ वैशाख । भारतमा कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या २ करोड नाघेको छ ।
कोरोना महामारीको दोस्रो लहरका कारण विश्वकै सबैभन्दा बढी प्रभावित बनेको भारतमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये २ करोड ७३ हजार ३ सय ६७ जन स्वस्थ भएका छन् ।
भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा निको हुनेको दर पनि बढ्दै गएको छ । हालसम्म भारतमा कोरोना सङ्क्रमित भएकामध्ये ९९ प्रतिशत नागरिक स्वस्थ भएका छन् ।
यस्तै भारतमा पछिल्लो समय दैनिक ३ लाखभन्दा बढीका दरले नयाँ सङ्क्रमित थपिने क्रम जारी छ । यसै क्रममा गत २४ घन्टामा भारतमा ३ लाख ४३ हजार २ सय ८८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २ करोड ४६० लाख ४६ हजार १ सय २० पुगेको छ ।
यस्तै गत २४ घन्टामा भारतमा भन्डै ४ हजारको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । वर्ल्ड मिटरको तथ्याङ्क अनुसार भारतमा गत २४ घन्टामा ३ हजार ९ सय ९९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ६२ हजार ३ सय ५० पुगेको छ । यो दर कुल सङ्क्रमितको १ प्रतिशत हो ।