भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ५८ हजार नाघ्यो
महाराष्ट्रमा ३१ मेसम्मका लागि लकडाउनको समय थप
भारत, ३० वैशाख । भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघेको छ ।
भारत पछिल्लो समय कोरोनाको दोस्रो लहरका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । जहाँ दैनिक सङ्क्रमित थपिने दर ३ लाख नाघेको छ भने ४ हजारभन्दा धेरैको मृत्यु हुने गरेको छ ।
गत २४ घन्टामा मात्रै भारतमा ४ हजार १ सय २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ३ लाख ६२ हजार ४ सय ६ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ५८ हजार ३ सय ५१ पुगेको छ भने सङ्क्रमित हुनेको संख्या २ करोड ३७ लाख २ हजार ८ सय ३२ पुगेको छ ।
भारतको महाराष्ट्रमा ३१ मेसम्मका लागि लकडाउनको समय थप गरिएको छ ।
भारतमा जारी कोरोनाको दोस्रो लहरका कारण सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा राज्य सरकारले थप दुई साताका लागि लकडाउनको समय थप गरेको हो । यसअघि जारी रहेको लकडाउन आजसम्म थियो ।
राज्य सरकारको बुधवार बसेको बैठकले महाराष्ट्रमा कोरोना सङ्क्रमणको दर अझै नियन्त्रणभन्दा बाहिर रहेकाले लकडाउनको समयावधि थप गर्ने निर्णय गरेको हो ।
लकडाउन अवधिभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द नै रहनेछ । महाराष्ट्रमा गत २४ घन्टामा मात्रै ४६ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् भने ८ सय १६ जनाको मृत्यु भएको छ ।