वैज्ञानिकको चेतावनीः भारतमा आगामी तीन महिनामा १० लाखको कोरोनाका कारण मृत्यु हुन सक्ने



Download our app to get more features

भारत, २७ वैशाख । भारतमा आगामी तीन महिनामा कोरोनाले ठूलो क्षति हुन सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

विश्व प्रसिद्ध मेडिकल जर्नल द ल्यासेन्टमा प्रकाशित एक अध्ययनका अनुसार भारतमा आगामी अगस्त महिनासम्म कोरोनाले ठूलो क्षति हुने छ । 

ल्यासेन्टले भारतमा आगमी अगस्तसम्म कोरोनाका कारण झन्डै १० लाखको मृत्यु हुने बताएको छ ।

भारतमा कोरोनाको दोस्रो लहरले भयावहस्थिति बनेको र सरकारले कुनैपनि ठोस कदम नचालेको भन्दै सरकारको आलोचना पनि जर्नलमा गरिएको छ । 

अध्ययनमा विश्व स्वास्थ्य संगठनले तय गरेको मापदण्डको उल्लघंन भारत सरकारकै तर्फबाट भएको र कोरोनाले भयावहस्थिति बन्नुमा सरकार आफै जिम्मेवार रहेको पनि उल्लेख गरिएको छ ।

भारतमा पछिल्लो समय कोरोनाको दोस्रो लहरकै क्रममा विभिन्न राज्यमा देखिएको कोरोनाको नयाँ स्वरुपले थप समस्या बल्झिने हुँदा आउने समय भारतका लागि थप चुनौतीपूर्ण हुने ल्यासेन्टको अध्ययनमा भनिएको छ ।

भारतमा पछिल्लो समय दैनिक ३ लाखभन्दा बढीमा कोरोना संक्रमण देखिँदै आएको छ भने बेला बेला दैनिक संक्रमणदर ४ लाख नाघ्ने गरेको छ । यस्तै दैनिक मृत्युदर पनि ३ देखि ४ हजार नाघेको छ ।

यसैबीच, पछिल्लो २४ घन्टामा मात्रै भारतमा ३ लाख ६६ हजार ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ हजार ७ सय ४८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ करोड २६ लाख ६२ हजार ४ सय १० पुगेको छ भने २४ लाख ६ हजार १ सय ४६ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये १ करोड ८६ लाख ६५ हजार २ सय ६६ जना स्वस्थ भएका छन् ।

भारतमा पछिल्लो समय आन्ध्रप्रदेशमा देखिएको कोरोनाको नयाँ भेरिएन्टले संक्रमण दर थप बढ्दै गएको छ भने अन्य राज्यमा पनि कोरोनाको दोस्रो चरणको लहरले प्रभावित बनाएको छ ।

Last modified on 2021-05-10 10:44:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts