चीनले विकास गरेको कोरोना खोपलाई आपतकालीन प्रयोगका लागि डब्लूएचओको अनुमति
बीबीसी, २५ वैशाख । विश्व स्वास्थ्य संगठनले चीनले विकास गरेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।
चीनीयाँ कम्पनी सिनोफार्मले विकास गरेको ‘भेरोसेल’ खोपलाई संगठनले आपातकालीन प्रयोगका लागि अनुमति दिएको हो ।
अन्तर्राष्ट्रिय स्तरमा चीनको खोप प्रभावकारी हो भन्ने पर्याप्त आधार र प्रमाणहरु नरहेकाले यसको अनुमतिका लागि संगठनले अनिश्चितता बताएको थियो । तर, शुक्रबार संगठनले चीनको सिनोफार्मले विकास गरेको कोरोनाविरुद्धको खोप सुरक्षित, प्रभावकारि र गुणस्तरीय रहेका भन्दै मान्यता दिएको छ ।
बिहीवार मात्रै संगठनले चीनीयाँ खोपको पर्याप्त आधार नभएको भन्दै सुरक्षित नरहेको भन्दै खोपको विश्वसनियता कम रहेको बताएको थियो ।
यता, अफ्रिका, ल्याटिन अमेरिका र एशियाका विभिन्न मुलुकले चीनीयाँ कोरोना खोपलाई आफ्नो देशमा पहिले नै प्रयोगका लागि अनुमति दिइसकेको थियो ।
विश्व स्वास्थ्य संगठनले यसअघि, फाइजर, एस्ट्राजेनेका, जनसन एन्ड जनसन र मोडेर्नाको खोपलाई पहिले नै आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको थियो भने रुसले विकास गरेको कोरोनाविरुद्धको खोपको विषयमा अध्ययन जारी रहेको बताएको छ ।