भारतमा तेस्रो चरणको खोप अभियान: ८४ हजारभन्दा बढीले लगाएको खोप

दिल्लीमा एक साताका लागि लम्ब्याइयो लकडाउन



Download our app to get more features

भारत, १९ वैशाख । भारतमा तेस्रो चरणको खोप अभियान अन्तर्गत ८४ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

भारतको परिवार कल्याण एवं स्वास्थ्य मन्त्रालयका अनुसार शनिवारबाट सुरु भएको तेस्रो चरणको खोप अभियान अन्तर्गत १८ वर्षदेखि ४४ वर्षसम्म्का ८४ हजार ५ सय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

उनीहरुलाई खोपको पहिलो डोज दिइएको हो । भारतमा तेस्रो चरणको खोप अभियान अन्तर्गत भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन लगाइँदैछ ।

भारतमा शनिवारबाट तेस्रो चरणको खोप अभियान सुरु भएपनि कोरोनाका कारण अति प्रभावित राज्यहरुमा खोप कार्यक्रम स्थगित गरिएको छ भने कतिपय राज्यमा खोप नै नपुगेका कारण पनि खोप अभियान सुरु हुन नसकेको मन्त्रालयले जनाएको छ । 

यसैबीच, भारतको राजधानी दिल्लीमा लकडाउनको समय एक साताका लागि थप गरिएको छ । 

राजधानी दिल्लीमा कोरोना सङ्क्रमणका कारण दैनिक मृत्यु दर र सङ्क्रमित अस्पताल भर्ना हुने दर बढेपछि दिल्ली सरकारले थप एक साताका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

दिल्लीमा कोरोनाका कारण स्थिति नाजुक बन्दै गएको छ । विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड लगायतको अभाव हुन थालेपनि बिरामीको बिचल्ली हुन थालेको छ ।

भारतमा पछिल्लो समय कोरोना सङ्क्रमणका कारण अवस्था भयावह बनेपछि सरकारको आलोचना समेत हुन थालेको छ ।

Last modified on 2021-05-02 11:03:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts