ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो
भारतमा लगातार ९ औं दिन ३ लाखभन्दा बढीमा संक्रमण
एजेन्सी, १७ वैशाख । ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ ।
कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल विश्वकै दोस्रो मुलुक हो ।
गत २४ घन्टामा थप ३ हजार ७४ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख नाघेको हो । वर्ल्ड मिटरको तथ्यांक अनुसार ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख १ हजार ४ सय १७ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप ६९ हजार ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै ब्राजिलमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ करोड ४५ लाख ९२ हजार ८ सय ८६ पुगेको छ ।
यस्तै कोरोना संक्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक भारतमा लगातार ९ औं दिन ३ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा भारतमा ३ लाख ८६ हजार ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या १ करोड ८७ लाख ५४ हजार ९ सय ८४ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप ३ हजार ५ सय १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ८ हजार ३ सय १३ पुगेको छ ।
भारतमा सक्रिय संक्रमितको संख्या पनि ३० लाख नाघेको छ भने हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये १ करोड ५३ लाख ७३ हजार ७ सय ६५ जना स्वस्थ भएका छन् ।