भारतमा कोरोना महामारीको स्थितिमाथि डब्लूएचओ प्रमुख टेड्रोसद्वारा दुःख व्यक्त
बीबीसी, १४ वैशाख । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्होनम घेब्रयसुसले भारतमा कोरोना महामारीको स्थितिमाथि दुःख व्यक्त गरेका छन् ।
सोमवार संगठनको नियमित मिडिया ब्रिफिङ्गको क्रममा उनले भारतमा कोरोनाको बढ्दो दर र अवस्थाप्रति दुःख गरेका हुन् ।
उनले विश्वस्तरमा कोरोना महामारीको प्रकोप लगातार जारी रहेको र विश्वभरि नै लगातार ९ औं हप्तामा कोरोना संक्रमणको दर उच्च देखिएकोले संकट अझै बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरे ।
लगातार छैठौं हप्तापनि कोरोनाका कारण मृत्यु हुने दर बढेको भन्दै उनले भारतमा बढ्दो मृत्यु दर र संक्रमण दरका कारण उत्पन्न स्थितिले मनै दुःखी भएको बताए ।
उनले भने, ‘विश्वका विभिन्न मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गएको छ तर, भारतको स्थिति मुटु तोड्ने भन्दा पनि खराब छ । विश्व स्वास्थ्य संगठन यस महामारीविरुद्धको लडाईका लागि सक्दो प्रयास गरिरहेको छ तर, स्थिति नियन्त्रणमा ल्याउनका लागि जनस्तरबाटै सचेत हुनु आवश्यक छ ।’
डा. टेड्रोसले वर्तमान परिस्थितिसँग लड्नका लागि महत्त्वपूर्ण उपकरण र आपूर्तिलाई सुनिश्चित गर्नमा हामी लागिरहेको भन्दै अक्सिजन, मोबाइल फिल्ड अस्पताल र ल्याब जस्ता कुराको लागि पनि तयारी भइरहेको बताए ।