इराकस्थित एक कोरोना अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ८२ पुग्यो
बीबीसी, १२ वैशाख । इराकको राजधानी बगदादस्थित एक कोरोना अस्पतालमा आगलागिमा परी मृत्यु हुनेको संख्या ८२ पुगेको छ ।
कोभिड बिरामीहरूको उपचार गरिरहेको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ८२ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ ।
शनिवार राति बगदादको इब्न अल-खतिब अस्पतालमा भएको आगलागीमा परेर १ सय जनाभन्दा बढी घाइते भएका छन् ।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीको रिपोर्ट अनुसार अक्सिजन ट्याङ्की विस्फोट हुँदा आगलागी शुरू भएको हो ।
घटना पछि इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमिले यस दुःखद दुर्घटनाको बारेमा अनुसन्धान सुरु गर्नका लागि आदेश दिएका छन् ।
इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी शुरू भएको थियो ।
अहिलेसम्म आपत्कालीन उद्दार समूहले १ सय २० मध्ये ९० जना बिरामी र उनका नातेदारलाई उद्दार गरेका छन् ।
अस्पताल स्रोतले एएफपी समाचारसंस्थालाई बताएअनुसार कोभिड–१९का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ’३० जना बिरामी आईसीयूमा थिए’ ।
घाइते र बिरामीहरूलाई एम्बुलेन्सबाट नजिकका अरू अस्पतालमा पु¥याइएको छ ।
सरकारको मानव अधिकार आयोगले उक्त दुर्घटना “कोभिड–१९ बाट पीडित बिरामीका लागि यो अपराधको रूपमा आएको छ । “
इराकमा कोरोनाभाइरस फेब्रुअरीयता तीव्र रूपमा बढिरहेको छ र यो हप्ता सम्ममा १० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार कुल १० लाख २५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको र १५ हजार २ सय १७ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ ।
त्यहाँ गत महिनादेखि खोप कार्यक्रम शुरू गरिएको छ र अहिलेसम्म ६ लाख ५० हजार जनालाई खोप दिइएको छ ।
धेरैजसो खोप विश्वव्यापी खोप सहयोग कार्यक्रम कोभ्याक्समार्फत् आएको छ ।