भारतमा एकै दिन २ हजार ७ सयभन्दा धेरैको मृत्यु, अन्तिम संस्कारका लागि घण्टौँ कुर्नुपर्ने
बीबीसी, १२ बैशाख । भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई हजार सात सय ६७ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाको दोस्रो लहर लहर फैलिएर सघन उपचार कक्ष, औषधि र अक्सिजनको अभावका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरहेको बेला एकै दिन दुई हजार सात सय ६७ जनाको मृत्यु भएको हो ।
भारतमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म एक लाख ९२ हजार तीन सयभन्दा धेरै जनाको मृत्यु भइसकेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै तीन लाख ४९ हजार ६ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । भारतमा पछिल्लो दुई हप्तामा मात्रै ३० लाख सङ्क्रमित थपिएका छन् ।
भारतमा अहिले अन्तिम संस्कारका लागि शवदाह गर्ने ठाउँमा घण्टौँ पर्खनुपर्ने बाध्यता आएको छ । शवदाह स्थलमा बसेर केही दिन शव गनिरहेका पत्रकारहरूले सरकारले सार्वजनिक गरेको तथ्याङ्कभन्दा दशौँ गुणा धेरैको मृत्यु भइरहेको बताएका बीबीसीले जनाएको छ ।
अहिले भारतका अस्पतालमा बेड अभाव छ भने अक्सिजन नपाएर दैनिक कैयौँले ज्यान गुमाइरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।