भारतको राजधानी दिल्लीस्थित एक अस्पतालमा अक्सिजन अभावका कारण २० जनाको मृत्यु
भारत, ११ वैशाख । भारतको राजधानी दिल्लीमा अक्सिजन अभावका कारण २० जनाको मृत्यु भएको छ ।
राजधानी दिल्लीस्थित जयपुर गोल्डेन अस्पतालमा अक्सिजन अभाव हुँदा २० जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको हो ।
अस्पतालका प्रबन्ध निर्देशक डिके बलूजाले शुक्रवार साँझ अक्सिजनको आपूर्तिमा कमी हुँदा २० जनाको मृत्यु भएको बताए । उनले अस्पतालमा २ सय १५ जना उपचाररत रहेकोमा अक्सिजन समयमै पूर्ति गर्न नसक्दा सबैको ज्यान जोखिममा पर्न सक्ने पनि बताए ।
यस्तै दिल्लीकै बत्रा अस्पतालमा पनि अक्सिजन अभाव हुन थालेको छ । अस्पतालमा दैनिक ७ हजार लिटर अक्सिजनको आवश्यकता हुने गरेकोमा जम्मा ५ सय लिटर मात्रै पठाइएको छ । जसले केहि समय मात्रै धान्न सक्छ ।
बत्रा अस्पतालमा हाल ३ सय बिरामी भर्ना भएका छन् । जसमा ४८ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतका विभिन्न अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेको छ । राजधानी दिल्लीमा अक्सिजन अभावका कारण हुन सक्ने दुर्घटनाको विषयमा केन्द्र सरकारसँग सहयोग माग गरिएपनि हालसम्म कुनै व्यवस्था हुन सकेको छैन ।
पछिल्लो समय भारतमा अक्सिजनको चरम अभाव देखिन थालेको छ भने गम्भीर बिरामीहरुले अस्पतालमा बेड पाउन नसकेको र खुला आकासमुनि नै उपचार गराइरहेका छन् । अक्सिजन अभावकै कारण अस्पतालहरुले बिरामी भर्ना गर्न मानेका छैनन् ।
अर्को तर्फ भारतमा दैनिक संक्रमणदर थपिँदै गएको छ भने मृत्यु दर पनि बढ्दै गएको छ । भारतका विभिन्न राज्यमा कोरोनाले अवस्था नियन्त्रणभन्दा बाहिर गएको र चिन्ताको विषय बनेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।