एस्ट्राजेनेकाको खोपले रगत जम्ने समस्या देखिएपछि डेनमार्कमा खोप लगाउन रोक



Download our app to get more features

बीबीसी, २ वैशाख । डेनमार्कले एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोप लगाउन तत्कालका लागि रोक लगाएको छ । 

बेलायतको अक्सफर्ड र एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोपले मानिसहरुमा समस्या देखिएपछि डेनमार्कले तत्कालका लागि खोप लगाउन रोक लगाउने निर्णय गरेको हो । 

डेनिश स्वास्थ्य प्राधिकरणले “दुर्लभ, तर गम्भीर” साइड इफेक्ट देखिएकोले खोप लगाउनमा रोक लगाउन परेको बताएको छ । 

डेनमार्कका स्वास्थ्य अधिकारिहरुका अनुसार एस्ट्राजेनेकाको खोप लगाएकाहरुमा रगतको ढिक्का जम्ने समस्या अनुमानभन्दा बढी रहेको र प्रत्येक ४० हजारमध्ये एक जना यसबाट प्रभावित भइरहेको छ ।

गत शनिबार यो खोप लगाएपछि एक जनाको मृत्यु भएको थियो । यो निर्णयसँगै एस्ट्राजेनेका खोपबाट हात झिक्ने डेनमार्क यूरोपियन युनियनभित्रको पहिलो राष्ट्र समेत बनेको छ ।

एस्ट्राजेनेकाले विकास गरेको कोरोना विरुद्धको खोप लगाउने मानिसहरुमा रगतको ढिक्का बन्ने समस्या देखिएको भन्दै अन्य मुलुकहरुमा पनि खोप कार्यक्रम रोकिएको छ ।

यूरोपमा औषधिको नियामक निकाय यूरोपियन मेडिसिन एजेन्सीले गत हप्ता मात्रै रगतको ढिक्का जम्ने समस्याको कारण खोप हुन सक्ने बताएको थियो । तर, संस्थाले आधिकारिक रुपमा भने केहि खुलाइएको छैन ।

यसैबीच अमेरिकामा जोनसन एन्ड जोनसनको खोप लगाउन रोक लगाइएको छ ।

खोपको प्रयोगपछि रगतको ढिक्का जम्ने समस्या देखिन थालेपछि अमेरिकी खाद्य र औषधि प्रशासन (एफडीए) ले खोप लगाउनमा रोक लगाउने निर्णय गरेको हो ।

Last modified on 2021-04-17 13:28:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts