महाराष्ट्रका अस्पतालमा संक्रमित खचाखच, कुर्सीमा राखेर उपचार हुँदै
एजेन्सी, ३० चैत । भारतको महाराष्ट्र राज्यमा कोरोना भाइरस संक्रमितले अस्पतालहरू खचाखच भरिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अस्पतालमा ‘बेड’ अभाव भएपछि कतिपयलाई कुर्सीमा राखेर उपचार गर्न थालिएको छ ।
महाराष्ट्रको ओस्मानबाद जिल्लाको जिल्ला अस्पतालमा एक व्यक्तिले मोबाइलमा भिडियो रेकर्ड गरेर सार्वजनिक गरेपछि अस्पतालको अवस्था बाहिर आएको हो । सम्भावित अवस्थाको बेवास्ता गरी पूर्व तयारी नगर्नाले यस्तो भयावह स्थिति सिर्जना भएको आलोचकहरूले बताएका छन् ।
जिल्लाको दक्षिणपूर्वी क्षेत्रमा रहेको सो क्षेत्रमा आइतबार ६८१ जना नयाँ संक्रमित भेटिएका छन् भने ७ जनाको ज्यान गएको छ । त्यस्तै महाराष्ट्र राज्यभर ६३ हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।
महाराष्ट्र अहिले कोरोनाबाट सबभन्दा बढी आक्रान्त बनेको छ । यस राज्यमा मात्र मुलुकभरको करिब ४९ प्रतिशत सक्रिय संक्रमित रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।