भारतमा बढ्दो कोरोना संक्रमणः राजधानी दिल्लीमा कडाई, महाराष्ट्रमा बिरामीको उपचार खुला आकासमुनि
बीबीसी, २९ चैत । भारतमा पछिल्लो समय बढ्दो कोरोना संक्रमणका कारण विभिन्न राज्यहरुमा प्रतिबन्ध लागू गर्न थालिएको छ ।
शुक्रवार देशभर झन्डै साढे १ लाख नयाँ संक्रमित थपिएसँगै राजधानी दिल्लीसहितका राज्यमा नयाँ प्रतिबन्ध लागू गरिएको छ ।
दैनिक संक्रमणदर बढेपछि भारतमा बिरामीको उपचारमा समस्या हुन थालेको छ । भारतको राजधानी दिल्ली, बिहार, गुजरात, महाराष्ट्र राज्यमा बिरामीको संख्या बढेपछि बेड र अक्सिजन अभाव हुन थालेको छ ।
बीबीसीले लेखे अनुसार कोरोना संक्रमणको दर बढेसँगै अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको छ । जसका कारण बिरामीको खुला आकासमुनि उपचार गर्न थालिएको छ ।
यसैबीच, राजधानी दिल्लीमा कोरोना संक्रमणको बढ्दो दरलाई ध्यानमा राखी नयाँ प्रतिबन्धात्मक नियम लागू गरिएको छ । दिल्ली सरकारले सामाजिक, राजनीतिक, खेल र मनोरञ्जनसँग सम्बन्धीत सार्वजनिक गतिविधिमा रोक लगाएको छ ।
दिल्ली सरकारको शनिवार बसेको बैठकले राष्ट्रीय र अन्तर्राष्ट्रिय टूर्नामेन्टमा भाग लिने खेलाडी बाहेक कसैलाई पनि सार्वजनिक स्वीमिंग पूलको प्रयोगका लागि अनुमति नदिइने, विवाहमा ५० जना र मलामीमा २० जनालाई मात्रै जान दिने, रेस्टुरेन्ट र बारमा ५० प्रतिशत मात्रै सिट राख्न, सबै कलेज र कोचिंग सेन्टरहरु बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै हवाई यात्रा गरेर महाराष्ट्रबाट दिल्ली आउने यात्रिहरुले अनिवार्य आरटी–पिसिआर परीक्षण गर्दा रिपोर्ट निगेटिभ भएको हुनुपर्ने, बिना रिपोर्ट आउने मानिसलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ ।
यस्तै महाराष्ट्रमा पुनः लकडाउन गर्ने तयारी हुँदैछ । महाराष्ट्र कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित राज्य हो ।