बेलायतमा ३० वर्षभन्दा कम उमेर समूहलाई एस्ट्रेजेनेकाको खोप नलगाउन निर्देशन
एजेन्सी, २६ चैत । बेलायत सरकारले ३० वर्षभन्दा कम उमेर समूहलाई कोरोना विरुद्धको खोप नलगाउन निर्देशन दिएको छ ।
बेलायतको औषधि नियामक संस्था एमएचआरएले ३० वर्षभन्दा कम उमेर समूहका नागरिकहरुलाई एस्ट्राजेनेकाको कोरोना खोप नलगाउन भनेको हो ।
नियामक संस्था एमएचआरएका अनुसार एस्ट्राजेनेकाको खोप लिएपछि ब्लड क्लटिंग अर्थात् रगतको ढिक्का बन्ने गुनासो आएपछि यस्तो निर्णय गरिएको हो ।
नियामक संस्थाले आफ्नो जाँचमा मार्चाको अन्तिमसम्म जो व्यक्तिहरुलाई एस्ट्राजेनेकाको कोरोना खोप दिइएको थियो उनीहरुमध्ये ७९ जनामा ब्लड क्लटिंगको समस्या देखिएको र १९ जनाको मृत्यु भएको पाइएको उल्लेख गरेको छ ।
तर, एमएचआरएले यस विषयमा हालसम्मपनि कुनै ठोस प्रमाण फेला नपरेको पनि बताएको छ । कोरोना खोपकै कारण उनीहरुको मृत्यु भएको हो भन्ने विषयमा ठोस प्रमाण फेला नपरेपनि यस विषयमा अनुसन्धान भइरहेको पनि एमएचआरएले बताएको छ ।
एस्ट्रेजेनेकाको कोरोना खोपले मानिसहरुमो रगतको ढिक्का बन्ने र उनीहरुको मृत्यु हुने गरेको समस्या विभिन्न मुलुकमा देखिएको भन्ने छ । तर, हालसम्म खोपकै कारण उनीहरुमा यस्तो समस्या देखिएको हो भन्ने कुनै प्रमाण फेला नपर्दा खोपलाई लिएर अन्यौलता कायमै छ ।