भारतमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च
एजेन्सी, २५ चैत । भारतमा कोरोना संक्रमणले फेरी पुरानो रेकर्ड तोडेको छ । मंगलबार एकै दिन देशभर १ लाख १५ हजार २३९ जनामा कोरोना संक्रमित थपिएका छन् । यसअघि सबैभन्दा बढी गत ४ अप्रिलको दिन भेटिएका थिए । त्यसदिन १ लाख ३ हजार बढी कोरोना संक्रमित थपिएका थिए ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मात्रै थप ६३० जना संक्रमितको ज्यान गएको छ ।
मंगलबार पनि सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा भेटिए । त्यहाँ हिजो मात्रै ५५ हजार ४६९ जना नयाँ संक्रमित थपिएका छन् । दोस्रो नम्बरमा छत्तिसगढ जहाँ ९ हजार ९२१ जना थपिएका छन् ।
यता कोरोना केश बढेपछि दिल्लीस्थित एम्स अस्पतालले ८ अप्रिल देखि ओपीडी सेवा स्थायी रुपमा नै बन्द गरेको छ । यससंगै अव बिरामीहरु परीक्षणका लागि भन्दै एम्स अस्पतालमा जान सक्नेछैनन् ।
‘सबैलाई खोप दिन सकिदैन’
यता केन्द्र सरकारले अहिले नै सबैका लागि खोप दिन नसकिने जनाएको छ । स्वास्थ्य सचिव राजेश भुषणले मंगलबार भने, ‘कतिपय व्यक्तिले सोध्ने गरेका छन् कि सबैका लागि खोप लगाउने अभियान किन सुरु भएको छैन भनेर । तर कुरा के हो भने यस्तो खोप अभियानको दुई लक्ष्य हुन्छ । पहिलो बिरामीबाट हुने मृत्यु रोक्न र दोस्रो स्वास्थ्य प्रणालीलाई बचाई राख्न । हाम्रो लक्ष्य यो होइन कि जसले खोप किन्न सक्यो उसलाई पहिला खोप लगाइदिने । हाम्रो लक्ष्य त सबैभन्दा आवश्यकता कसलाई छ त्यसलाई पहिले दिनु हो ।’
यसअघि दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवाल र राजस्थानका मुख्य मन्त्री अशोक गहलोतले १८ बर्ष माथिका सबैलाई खोप अभियानमा सहभागी गराई खोप दिन माग गरेका थिए ।
भारतमा मंगलबार राती ८ बजेसम्म ८ करोड ४० लाख भन्दा बढीले कोभिडबिरुद्धको खोप पाएका छन् । त्इसमा सबैभन्दा बढी ८९ लाख ६० हजार बढी स्वास्थ्यकर्मीले पहिलो डोज र ५३ लाख ७७ हजारले दोस्रो डोज लगाइसकेका छन् ।