भारतमा बढ्दो कोरोना संक्रमण: विभिन्न राज्यमा कडाई, झारखण्डमा विद्यालय बन्द गर्ने निर्णय
भारत, २५ चैत । भारतमा पछिल्लो समय कोरोना संक्रमणको दरमा वृद्धि भएसँगै विभिन्न राज्यमा लकडाउनसहितका कडा प्रतिबन्ध लगाउन थालिएको छ ।
भारतमा हाल ९० हजारदेखि १ लाखभन्दा बढी कोरोना संक्रमित दैनिक रुपमा थपिँदै जादा अवस्था भयावह हुन सक्ने भन्दै नयाँ प्रतिबन्धात्मक नियमहरु लगू गर्न थालिएको हो ।
भारतका महाराष्ट्र राज्य सुरुदेखि नै कोरोना महामारीको उच्च जोखिममा रहेकोमा पछिल्लो समय फेरि त्यहाँ लकडाउन जारी गरिएको छ । सेप्टेम्बर महिनामा नियन्त्रणमा आएको कोरोना संक्रमण हाल आएर फेरि उच्च भएपछि महाराष्ट्र सरकारले त्यहाँ कर्फ्यू आदेश जारी गरेको छ ।
यस्तै भारतको राजधानी दिल्लीमा पनि कोरोना संक्रमणको दर बढेसँगै रात्रीकालिन कर्फ्यू जारी गरिएको छ ।
यसैगरी भारतको बिहार राज्यमा पनि कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी क्वारेन्टाइन र आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्न आदेश दिइएको छ ।
बिहार सरकारको बसेको आपतकालीन बैठकले सबै जिल्लामा क्वारेन्टाइन र आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्न निर्देशन दिएको हो । साथै कोरोना महामारी विरुद्धको लडाईमा खटेकाहरुको नियमित पिसिआर परीक्षण गर्न, सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड लागू गर्न, सार्वजनिक स्थानमा अनावश्यक भिडभाड नगर्न, कार्यालयहरुमा मास्क अनिवार्य प्रयोग गर्न पनि बैठकले निर्देशन दिएको हो ।
यस्तै भारतकै झारखण्डमा पनि कडा प्रतिबन्धात्मक नियम लागू गरिएको छ । झारखण्ड सरकारले कक्षा १२ सम्मका सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । तर, परीक्षा भने जारी रहने बताएको छ ।
यस्तै झारखण्ड सरकारले सबै स्विमिंग पुल, जिम र पार्क बन्द रहने, पाँच वा त्योभन्दा बढी व्यक्ति जम्मा हुन नपाउने, आइतवार विदाको दिनपनि पसल र बजार बन्द रहने तथा राती ८ बजेपछि कुनैपनि पसल वा मल खोल्न नपाउने निर्णय गरेको छ ।
होटल र होम डेलिभरी गर्ने रेस्टोरेन्टहरुले होटल बन्द गर्ने तथा होम डेलिभरीको सेवा मात्रै दिने गरी सेवा उपलब्ध गराउन पनि निर्देशन दिएको छ । सबै प्रकारका सभा, जुलुश, सम्मेलन र भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ ।
यस्तै भारतका अन्य राज्यहरुमा पनि कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी सावधानी अपनाउन केन्द्र सरकारले आग्रह गरेको छ ।
भारतमा कोरोना विरुद्धको खोप लगाउन अभियान जारी रहेपनि पछिल्लो समय कोरोना संक्रमित थपिने दर तीव्र गतिमा बढ्दै गएको छ ।
भारतमा हालसम्म कोरोना भाइरसका कारण १ करोड २७ लाख ९९ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने १ लाख ६६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।