भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार भन्दा धेरै कोरोना संक्रमित थपिए
एजेन्सी, २४ चैत । भारतमा कोरोना संक्रमणको ग्राफ सोमबार अघिल्लो दिनको तुलनामा थोरै कम देखिएको छ । तर संक्रमणदर फेरी पनि डरलाग्दो नै आएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो चौविस घण्टामा देशमा ९६ हजार ५६३ जना नयाँ संक्रमित भेटिएका छन् । सोही अवधीमा ५० हजार ९५ जना निको भएका छन् । संक्रमितमध्ये ४४५ जनाको यहि अवधीमा ज्यान गएको छ ।
यसअघि आइतबार देशमा अहिलेसम्ममै बढी अर्थात १ लाख ३ हजार ७९४ जना नयाँ संक्रमित भेटिएका थिए । आइतबारको तुलनामा सोमबार केही कमि देखिएपनि संक्रमणदर भने निकै बढी हो ।
मन्त्रालयले सोमबार नयाँ संक्रमित र डिस्चार्ज हुनेको हिसाव निकाल्दै देशमा थप ३० हजार बढी सक्रिय संक्रमित थपिएको बताएको छ । अहिले भारतमा १ करोड २७ लाख बढी जनता कोरोनाको संक्रमणमा परेका छन् । यसमा १ करोड १७ बढी निको भएका छन् । १ लाख ६५ हजार बढीको ज्यान गएको छ ।
भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा परेको छ । यस्तै दिल्ली, मध्यप्रदेश, पञ्जाव, गुजरात, राजस्थान लगायतका राज्यहरुमा संक्रमण बढदो क्रममा देखिएको छ ।