भविष्यमा हुने महामारीसँग जुध्न विश्वव्यापी अन्तर्राष्ट्रिय सन्धि गर्न युरोपेली मुलुकको आह्वान
बीबीसी, १८ चैत । ब्रिटेन, फ्रान्स, जर्मनी लगायतका विश्वका २० भन्दा बढी देशका नेताहरूले भविष्यमा हुने विश्वव्यापी महामारीहरूसँग जुध्ने तयारीका लागि अन्तर्राष्ट्रिय सन्धि गर्न आह्वान गरेका छन् ।
संसारका विभिन्न समाचारपत्रहरूमा प्रकाशित लेखमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सन, फ्रान्सका राष्ट्रपति माक्रोँ, जर्मनीकी चान्सलर एङ्गेला मेर्कलसहितका नेताहरूले कोभिडले दोस्रो विश्वयुद्धयता दुनियाँका सामु सबैभन्दा ठूलो चुनौती खडा गरिदिएको टिप्पणी गरेका छन् ।
उनीहरूका अनुसार यस्तै प्रकृतिको अर्को विश्वव्यापी महामारी होला कि नहोलाभन्दा पनि भविष्यमा कहिले होला भन्ने अवस्थामा छ ।
वर्तमान महामारीले संसारका सबै मानिस सुरक्षित नभएसम्म कोही पनि सुरक्षित रहँदैनन् भन्ने पाठ सिकाएको पनि उनीहरूले उल्लेख गरेका छन् ।
आआफ्ना देशका केही चर्चित समाचारपत्रहरूमा प्रकाशित लेखमा २४ नेताहरूले देशहरूबीच आपसी सहयोगको सहज वातावरण तयार पार्न दोस्रो विश्वयुद्धको समाप्तिपछि भएको जस्तै प्रकारको सन्धि आवश्यक भएको तर्क गरेका छन् ।
अब संसारका देशहरू "भविष्यमा हुने महामारीको सटिक अनुमान गर्न, रोकथाम गर्न, पत्ता लगाउन, समीक्षा गर्न र त्यसप्रति प्रभावकारी ढङ्गले उच्चस्तरको संयोजित प्रतिक्रिया जनाउन सक्ने" अवस्थामा रहनुपर्ने उनीहरूको भनाइ छ ।
सन्धि
एउटा नयाँ सन्धिले सम्भावित महामारीका बारेमा जनतालाई सावधान गराउन अझ प्रभावकारी प्रणालीहरूको स्थापना गर्न सघाउने उनीहरू बताउँछन् ।
साथै त्यसबाट महामारीसँग सम्बन्धित तथ्याङ्कहरूको आदानप्रदान, खोपहरू तथा सुरक्षात्मक पोसाक र उपकरणहरूको वितरणजस्ता आवश्यकताहरूको सम्बोधनमा पनि सुधार हुनेछ ।
नेताहरूको उक्त संयुक्त लेख हालै यूके र युरोपेली सङ्घबीच खोपहरूको विषयलाई लिएर उत्पन्न भएको असहमतिको केही समयपछि आएको छ ।
ईयूले आफ्नो सीमाभित्र उत्पादित खोपहरूको निर्यातमा कडा नियन्त्रणहरू लागु गरेपछि त्यस्तो विवाद उत्पन्न भएको थियो ।