रुसी राष्ट्रपति पुटिनले स्वदेशमै बनेको कोरोनाविरुद्धको खोप लगाए
एजेन्सी, ११ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वदेशमै निर्मित कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। मंगलबार पुटिनले रुसमै बनाएको खोप लगाएको रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार जानकारी दिएका हुन्।
तर, राष्ट्रपति पुटिनलाई रूसमै बनाइएको तीनवटा मध्ये कुन खोप लगाइएको हो त्यो पुष्टि गरिएको छैन। रुस विश्वमै सबैभन्दा पहिले खोप प्रयोगका लागि ‘स्पुतनिक भि’ स्वीकृति दिने राष्ट्र हो। यसपछि ‘एपीभ्याककोरोना’ र ‘कोभिभ्याक’लाई पनि आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको थियो।
‘राष्ट्रपतिले खोप लगाउनु भएको छ। उहाँलाई त्यस्तो केही असर देखा परेको छैन। भोलिबाट उहाँ पुरा काममा फर्कनु हुनेछ,’ पेस्कोभले भनेका छन्। पुटिनले खोप लगाएको तस्वीर तथा भिडियो भने हालसम्म सार्वजनिक गरिएको छैन।
‘उहाँको वचनमा पक्का छ। राष्ट्रपतिले भ्याक्सिनलाई लोकप्रिय बनाउन धेरै काम गरिसक्नु भएको छ। तर, क्यामेरामा कैद गरेर खोप लिन उहाँले मन पराउनुहुन्न, त्यसैले तस्वीर र भिडियो सार्वजनिक गरेनौं,’ पेस्कोभले भने।
पुटिनलाई क्यामेरा मोह छैन भन्नुमा कुनै सत्यता भने छैन। योभन्दा अगाडि पुटिनले साइबेरियामा ग्रीष्मयाममा क्यामेरा लगाए बरफको चिसो पोखरीमा पौडी खेलेको भिडियो सार्वजनिक भएको थियो।