फ्रान्स र जर्मनीमा अस्ट्राजेनिकाको खोप लगाउन पुनः सुरु
एजेन्सी, ६ चैत । फ्रान्स र जर्मनीमा शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अक्सफोर्ड अस्ट्राजेनिका खोप लगाउन पुनः सुरु भएको छ।
रगत जम्ने सम्भावित आशंकालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए।
युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः सुरु गर्न युरोपेली मुलुकहरु समक्ष आग्रह गरेको थियो। त्यसलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले खोप अभियान सुरु गर्ने निर्णय गरेको जनाइएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि अस्ट्राजेनिका खोपको सुरक्षा र प्रभावकारिताका बारेमा गरिरहेको अनुसन्धानको नतिजा शुक्रबार सार्वजनिक गर्दैछ। ढुवानी र भण्डारमा सहज तथा सस्तो मूल्यमा उपलब्ध हुने यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र स्वीडेनको औषधि निर्माता कम्पनी अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेका हुन्।