इटलीमा कोरोना सङ्क्रमण बढ्दा विद्यालय बन्द, प्रतिबन्धमा थप कडाई
बीबीसी, २९ फागुन । इटलीभर सोमवार पसल, रेस्टुराँ र विद्यालयहरू बन्द रहने घोषणा गर्दै प्रधानमन्त्री मारियो ड्रागिले कोरोनाभाइरस सङ्क्रमणको 'नयाँ लहर' आउन सक्ने भन्दै सचेत गराएका छन् ।
इस्टरका बेला अर्थात् आगामी ३-५ एप्रिलमा पूर्ण रूपमा मुलुक बन्द गरिने घोषणा गरिएको छ ।
एक वर्ष अघि राष्ट्रिय लकडाउन गरेको इटलीले फैलिँदो सङ्क्रमण रोक्न फेरि सङ्घर्ष गरिरहेको छ ।
इटली यूकेपछिको युरोपमा सबभन्दा धेरै मृत्युदर भएको मुलुक हो ।
युरोपियन युनियनका अन्य मुलुकमा जस्तै इटलीमा खोप अभियानमा ढिलाइ भइरहेको छ ।
खोप अभाव पूर्ति गर्न भन्दै गत हप्ता रोमस्थित सरकारले २ लाख ५० हजार अक्सफर्ड-आस्ट्राजेनेका खोप अस्ट्रेलिया निर्यात गर्नमा रोक लगाएको थियो ।
बुल्गेरिया, डेनमार्क र नर्वेले भने अक्सफर्ड-आस्ट्राजेनेका खोपले रगत जमाउने त्रास उत्पन्न भएपछि उक्त खोप प्रयोग रोकेका छन् ।
शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले रगत जम्ने कुरा सत्य भएको कुनै सङ्केत नमिलेको भन्दै खोप प्रयोग रोक्न नहुने बताएको थियो ।
यूरोपमा भएका अन्य घटनाक्रम
पोल्यान्डमा शुक्रवार झन्डै १९ हजार नयाँ सङ्क्रमण पुष्टि भएको छ यो गत नोभेम्बर यताकै धेरै सङ्ख्या हो ।
जर्मनीमा स्कूले विद्यार्थीमा सङ्क्रमण तीव्र गतिमा वृद्धि भएको पाइएको छ र नयाँ भेरियन्टका कारण त्यसो भएको भनिएको छ
फ्रान्समा आइसीयूमा ४ हजार भन्दा बढी बिरामी भर्ना भएका छन् । यो सङ्ख्या तीन महिना यताको ठूलो सङ्ख्या हो। सरकारले थप क्षेत्रीय लकडाउन गर्ने कुरा अस्वीकार गरेको छ ।
स्लोभाकिया र चेक रिपब्लिकले इयूले अनुमति नदिएका खोप किनेको भन्दै समस्यामा परेका छन् ।
इटलीमा नयाँ नियम के छन् ?
सोमवारदेशि विद्यालय, पसल र रेस्टुराँहरू इटलीको आधा भन्दा बढी क्षेत्रमा बन्द रहनेछन्। सबभन्दा बढी जनघनत्व भएका रोम र मिलानमा पनि लकडाउन गरिएको छ ।
मानिसहरूलाई काम, स्वास्थ्य र अति आवश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।
प्रधानमन्त्रीको कार्यालयले नयाँ प्रतिबन्ध इस्टरसम्म कायम रहने बताएका छन् । इस्टर सप्ताहान्तमा सम्पूर्ण मुलुकलाई उच्च सतर्कतायुक्त 'रेड जोन' बनाइनेछ ।
ड्रागिले भनेका छन्, "प्रतिबन्धले तपाईँका बालबच्चाको शिक्षा, अर्थतन्त्र र तपाईँको मानसिक स्वास्थ्यमा असर पार्छ भन्ने मलाई थाहा छ ।"
"तर परिस्थिति बिग्रन नदिन योभन्दा पनि कडा कदम चाल्नुपर्ने हुनसक्छ ।"
इटलीमा गत ६ हप्तादेखि प्रति दिन २५ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भइरहेको छ ।
त्यहाँका अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको बताइएको छ। सार्डिनिया टापुमा मात्र सङ्क्रमण दर न्यून छ ।
गत वर्ष कोरोनाभाइरस सङ्क्रमणको प्रकोप सुरु भए यता इटलीमा ३२ लाख सङ्क्रमण पुष्टि भइसकेको छ ।