ब्राजिल कोरोना महामारीका कारण विश्वकै दोस्रो प्रभावित मुलुक, तेस्रोमा भारत
एजेन्सी, २९ फागुन । कोरोना महामारीका कारण ब्राजिल विश्वकै दोस्रो प्रभावित मुलुक बनेको छ ।
यसअघि भारत कोरोना संक्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुक रहेकोमा ब्राजिल दोस्रो स्थानमा उक्लेको छ ।
पछिल्लो समय ब्राजिलमा फेरि कोरोना संक्रमण र मृत्यु हुने दर वृद्धि हुन थालेको छ ।
गत २४ घन्टामा ब्राजिलमा ८४ हजार नयाँ संक्रमित थपिएका छन् भने २ हजार १ सय ५२ जनाको मृत्यु भएको छ ।
नयाँ संक्रमित थपिएसँगै ब्राजिलमा कोरोनाका कारण संक्रमित हुनेको संख्या १ करोड १३ लाख ६८ हजार ३ सय १६ पुगेको छ भने २ लाख ७५ हजार २ सय ७६ जनाको मृत्यु भइसकेको छ ।
हुन त भारतमा पनि पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको छ । हालसम्मको तथ्यांक अनुसार भारतमा कोरोनाका कारण १ करोड १३ लाख ३३ हजार ४ सय ९१ जना संक्रमित भइसकेका छन् भने १ लाख ५८ हजार ४ सय ८३ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा गत २४ घन्टामा १ हजार ३ सय ४० जनाको मृत्यु भएको छ भने ६४ हजार ३ सय २० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोनाका कारण संक्रमित हुनेको संख्या २ करोड ९९ लाख ९३ हजार ४ सय २३ पुगेको छ भने ५ लाख ४५ हजार ५ सय ४४ जनाको मृत्यु भइसकेको छ ।
हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये अमेरिकामा सबैभन्दा बढी संक्रमित रहेका छन् । वर्ल्ड मिटरको तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ११ करोड ९६ लाख ९ हजार ८ सय ३१ पुगेको छ भने २६ लाख ५१ हजार ७ सय जनाको मृत्यु भइसकेको छ ।