कोरोना भाइरसको उत्पत्तिबारे डब्ल्यूएचओको प्रतिवेदन मार्चको दोस्रो साता सार्वजनिक गरिने
एजेन्सी, २२ फागुन । कोरोना भाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को अध्ययन प्रतिवेदन मार्च महिनाभित्रै आउने भएको छ । प्रतिवेदनको अन्तिम तयारी भइरहेको भन्दै त्यसलाई मार्चको दोस्रो साता सार्वजनिक गरिने डब्ल्यूएचओ प्रमुखले बताए ।
यसअघि दुई चरणमा अनुसन्धान प्रतिवेदन प्रकाशन गरिने बताइएको थियो । तर अब दुवै प्रतिवेदन एकै समयमा गर्न लागिएको प्रमुख टेड्रोस आधनम गेब्रीयससले बताए ।
‘सार्स–कोभ–२ भाइरसको उत्पत्तिबारे डब्ल्यूएचओको नेतृत्वमा भएको अध्ययनको विवरण थाहा पाउन म जस्तै सबै सदस्यहरू उत्सुक हुनुहुन्छ’, उनले भने ।
उनले प्रतिवेदनको अन्तिम रुप दिने काम भइरहेको बताउँदै त्यसको सारांश पनि प्रकाशन गरिने बताए । ‘टिमले प्रतिवेदनको अन्तिम रुप दिइरहेको छ । त्यसको सारांश निर्माण भइरहेको छ’, उनले भने ।
कोरोना भाइरसको पहिलो संक्रमित सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहान सहरमा भेटिएको थियो । भाइरसका कारण हालसम्म विश्वमा २५ लाख ८० हजार बढीले ज्यान गुमाइसकेका छन् भने ११ करोड ६१ लाख संक्रमित भइसकेका छन् ।