अस्ट्रेलिया पठाउन लागेको कोरोना खोप इटालीमा रोकियो
एजेन्सी, २१ फागुन । अस्ट्रेलिया पठाउन लागेको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप इटालीले रोकिदिएको छ । कम्पनीले युरोपियन युनियन (इयू)सँग सम्झौता गरे बमोजिम खोप उपलब्ध गराउन नसकेको भन्दै इटालीले खोप निर्यातमा रोक लगाएको हो ।
इटालीमा उत्पादित २ लाख ५० हजार डोज खोप अस्ट्रेलिया पठाउन पानी जहाजमा राखिसकेको खोप इटाली सरकारले रोकेको हो । इटालीको कदमलाई इयुले समर्थन गरेको छ ।
अस्ट्रेलियाले भने इटालीको सो कदमले आफ्नो मुलुकले कोरोनाविरुद्ध अपनाएको रणनीतिमा कुनै असर नगर्ने बताएको छ । उसले आउँदो सातादेखि आफ्नै मुलुकमा १० लाख डोज प्रतिहप्ता खोप उत्पादन गर्ने बताएको छ ।
इटालीले किन रोक्यो खोप ?
गत अगस्टमा खोप उत्पादक कम्पनी एस्ट्राजेनेका र इयूले ३० करोड डोज खोप उपलब्ध गराउने सम्झौता गरेका थिए । १० करोड डोज उपलब्ध गराउने बिकल्पसहित सो सम्झौता भएको थियो । वर्षको सुरुवातमै बेलायत, स्वीडेन लगायतमा उत्पादन गरिरहेका कम्पनीले उत्पादनमा ढिलाइ हुने बताएका थिए । तर मार्च महिनाको अन्त्यसम्ममा १० करोडको ठाउँमा ४ करोड डोज मात्र खोप उपलब्ध हुने भएको हो ।
इयूले कम्पनीले सम्झौताको बेवास्ता गरेको आरोप लगाउँदै आएको छ । कम्पनीले सम्झौताअनुसार खोप उपलब्ध नगराए निर्यातमा रोक लगाउने इयूले चेतावनी दिँदै आएको थियो ।
इयूको सो नीतिअनुसार इटालीले अस्ट्रेलिया पठाउन लागेको खोप रोकेको हो ।