कोरोना विरुद्धको खोप आएपनि यसै वर्ष महामारी अन्त्य हुँदैन: डब्लूएचओ
एजेन्सी, १८ फागुन । विश्व स्वास्थ्य संगठनले यो वर्ष पनि कोरोना महामारी अन्त्य नहुने भन्दै चेतावनी दिएको छ ।
संगठनको आपतकालीन कार्यक्रमका निर्देशक डा.माइक र्यानले कोरोना विरुद्धको खोप आएपनि यो वर्ष नै कोरोना महामारी अन्त्य नहुने भन्दै सबैलाई सचेत रहन आग्रह गरे ।
सोमवार संगठनको नियमित प्रेस ब्रिफिंगको क्रममा डा. र्यानले कोरोना विरुद्धको खोप आएपनि यो वर्ष नै कोरोना महामारी अन्त्य हुने सम्भावना न्यून रहेको बताए । तर, कोरोना विरुद्धको खोपले यसलाई नियन्त्रण गर्नमा केहि हदसम्म सहयोग पुग्ने उनको भनाइ छ ।
डा.र्यानका अनुसार कोरोना महामारीसँग लड्नका लागि अझै पनि विश्वका अधिकांश मुलुकमा खोप पुुग्न सकेको छैन भने कतिपय मुलुकमा बढ्दो कोरोन संक्रमणको दरलाई हेरेर मुलुकहरुले सावधानीका उपायहरु अपनाउन आवश्यक छ ।
हाल विश्वका विभिन्न मुलुकले कोरोना विरुद्धको खोप परीक्षणका लागि संगठनबाट लाइसेन्स लिइसकेको र कतिपयले मान्यता प्राप्त गरिसकेको छ ।
डा. र्यान भन्छन्, ‘कोरोना विरुद्धको खोपले कोरोना संक्रमणको प्रसारलाई रोक्नमा मद्दत गर्नुका साथै मृत्युदर र गम्भीर प्रकृतिका बिरामीको संख्यालाई कम गर्नमा सहयोगी हुन्छ । तर, यसले यसैवर्ष कोरोना महामारी अन्त्य हुन्छ भनेर ढुक्क हुने अवस्था नरहेकाले स्वास्थ्यका मापदण्डलाई पालना गर्नु र्न उचित हुन्छ ।’