विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो
एजेन्सी, १३ फागुन । विश्वभर कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख नाघेको छ ।
वर्ल्ड मिटरको तथ्यांक अनुसार गत २४ घनटामा विश्वभर कोरोना संक्रमणका कारण थप १० हजार ४ सय ७७ जनाको मृत्यु भएको हो । योसँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख नाघेको हो । वर्ल्ड मिटरका अनुसार हालसम्म विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ लाख ८ हजार ९ सय ४१ पुगेको छ ।
विश्वभर सबैभन्दा धेरै कोरोनाका कारण अमेरिकामा मृत्यु भएको छ । कोरोना महामारीकै कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा गत २४ घन्टामा २ हजार ३ सय ४० जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाका कारण ५ लाख १८ हजार ३ सय ६३ जनाको मृत्यु भइसकेको छ ।
यस्तै ब्राजिलमा कोरोनाका कारण हालसम्म २ लाख ५० हजार ८९ जनाको मृत्यु भइसकेको छ । ब्राजिल अमेरिकापछि दोस्रो मुलुक हो जहाँ सबैभन्दा बढी मानिसहरुको कोरोनाका कारण मृत्यु भएको छ ।
यस्तै गत २४ घन्टामा थप ४ लाख २८ हजार २ सय ७३ नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ११ करोड ३१ लाख १ हजार ५ सय ३ पुगेको छ ।
गत २४ घन्टामा अमेरिकामा मात्रै ७१ हजार १ सय ८१ जना नयाँ संक्रमित थपिएका छन् भने ब्राजिलमा ६५ हजार ३ सय ८७ जना संक्रमित थपिएका छन् ।
यस्तै मेक्सिकोमा १ हजार २ सय ७३, बेलायतमा ४ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
हालसम्म विश्वभर कोरोनाका कारण संक्रमित भएकामध्ये ८ करोड ८७ लाख २३ हजार ४ सय ७४ जना स्वस्थ भइसकेका छन् ।
यस्तै हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड १८ लाख ६९ हजार ८८ रहेको छ ।