जनसन एन्ड जनसनले विकास गरेको कोरोना विरुद्धको खोप प्रभावकारी : एफडीए
बीबीसी, १३ फागुन । अमेरिकी नियामक संस्था फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले जनसन एन्ड जनसनले विकास गरेको कोरोना विरुद्धको खोपलाई प्रभावकारी बताएको छ ।
जनसन एन्ड जनसन खोप फाइजर र मोडर्नाले विकास गरेको कोरोना खोपको राम्रो विकल्प र सस्तो हुन सक्ने बताइएको छ । साथै यो खोप फ्रिजरको साटो रेफ्रिजरेटरमा राख्न सकिन्छ ।
एफडीएले खोपलाई सुरक्षित र प्रभावकारी भनेसँगै अमेरिकामा कोरोनाको तेस्रो खोपले मान्यता पाउने बाटो खुलेको छ । यस खोपको केवल एक डोज दिइने छ । जबकी फाइजर र मोडर्नासहित अन्य कोरोना विरुद्धको खोपको दुई डोज लिनु पर्नेछ ।
जनसन एन्ड जनसनले आफ्नो परीक्षणको नतिजा एक महिना अघि सार्वजनिक गरेको थियोे ।
एफडीएका अनुसार यस खोपको ट्रायल अमेरिका, दक्षिण अफ्रिका र ब्राजीलमा गरिएको थियो । परीक्षणका क्रममा कोरोना भाइरस विरुद्ध लड्मा यो खोप ८५ प्रतिशत प्रभावकारी र सुरक्षित पाइएको थियो ।
भोलि विशेषज्ञहरुको एक टिमले एफडीएले यस खोपलाई मान्यता दिनु पर्छ वा पर्दैन भन्ने विषयमा निर्णय गर्नेछन् ।
व्हाइट हाउसका अनुसार यदि एफडीएले यस खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दियो भने आउने साता यसको ३० लाख डोज उपलब्ध गराइनेछ ।
कम्पनीका अनुसार मार्चको अन्त्यसम्म २ करोड खोपको सप्लाई गर्नेछ । कम्पनीले अमेरिकामा जुनको अन्त्यसम्म १० करोड डोज सप्लाई गर्ने समझौता गरेको छ ।
अमेरिकामा हालसम्म ६ करोड ५० लाख मानिसलाई कोरोना विरुद्धको खोप दिइएको छ र दैनिक १३ लाख मानिसलाई खोप लगाइँदैछ ।