कोरोनाभाइरसका नयाँ प्रकार के हुन् र के खोपले काम गर्छ ? जानौं
बीबीसी, ४ फागुन । कोभिड-१९ को महामारी देखा परे यता अझ सङ्क्रामक प्रकृतिका नयाँ प्रकारका कोरोनाभाइरसहरू देखा परिरहेका छन् ।
यसमध्ये सबैभन्दा पहिला यूकेमा देखापरेको कोरोनाभाइरसको प्रकार विश्वमा व्यापक रूपमा फैलिन सक्ने यूकेको आनुवंशिक निगरानी कार्यक्रमका प्रमुखले भविष्यवाणी गरेका छन् ।
अहिलेको खोपले कतिपय कोरोनाभाइरसका प्रकारमा राम्रोसँग काम नगर्ने भनिएको छ ।
नयाँ प्रकारका कोरोनाभाइरसहरू के हुन् ?
कोरोनाभाइरसका हजारौँ प्रकार फैलिरहेको बताइन्छ। तर विज्ञहरूले केहीमा जोड दिइरहेका छन् ।
यूके वा केन्ट भेरिअन्ट ब्रिटेनको अधिकांश क्षेत्रमा फैलिएको छ । यो विश्वका ५० भन्दा देशमा पुगिसकेको छ र यसले अझै पनि म्यूटेशन (उत्परिवर्तन) गरिरहेको बताइन्छ । यूकेले परीक्षण बढाएर कोभिड-१९ पत्ता लगाउन र सङ्क्रमण फैलनबाट रोक्न प्रयास गरिरहेको छ ।
साउथ अफ्रिकाको नयाँ प्रकारको कोरोनाभाइरस यूके सहित कम्तीमा २० वटा देशमा फेला परेको छ । ब्राजिलमा पनि नयाँ प्रकारका कोरोनाभाइरस देखा परेको छ ।
नयाँ किसिमका भाइरस देखा पर्नु अनपेक्षित होइन । सबै भाइरसहरूले फैलने र आफूलाई जोगाउने क्रममा आफ्नो स्वरूप परिवर्तन गर्छन् । तर अधिकांश उत्परिवर्तन त्यति महत्वपूर्ण हुँदैनन् । कतिपय भाइरस स्वयम्का लागि घातक हुनसक्छन् भने कतिले भाइरसलाई अझ सङ्क्रामक बनाउँछन् ।
के नयाँ खालका भाइरस अझ घातक छन् ?
सङ्क्रमण भएका बहुसङ्ख्यक मानिसहरूमा नयाँ प्रकारको भाइरसका कारण कुनै पनि नयाँ प्रकारको बिरामी देखा परेको छैन ।
सुरुको प्रकार जस्तै, ज्येष्ठ नागरिक वा पहिल्यैदेखि उल्लेख्य स्वास्थ्य समस्या रहेका व्यक्तिमा नयाँ भाइरसको जोखिम बढी रहेको पाइएको छ ।
यूकेमा देखा परेको कोरोनाभाइरसको प्रकारबारे केही अनुसन्धानले ३० प्रतिशतसम्म मृत्युको जोखिम बढाउनसक्ने भनिएको छ ।
प्रमाणहरू बलिया छैनन् र अझै पनि तथ्याङ्कबारे अन्यौल छ ।
हात धुने, अरू मानिसहरूबाट निश्चित दूरी कायम राखेर बस्ने र अनुहार ढाक्ने मास्क प्रयोग गर्ने जस्ता कामले सङक्रमणलाई नियन्त्रण गर्न मद्दत गर्छन् ।
तर नयाँ किसिमको सङ्क्रमण अझै सजिलै गरी फैलने भएकाले थप चनाखो हुनु जरूरी रहेको देखिन्छ ।
भाइरसलाई के भइरहेको छ ?
यूके, साउथ अफ्रिका वा ब्राजिलमा देखा परेका नयाँ प्रकारका कोरोनाभाइरसहरूले सजिलै सङ्क्रमित तुल्याउन सक्छन् ।
यी तीनैको भाइरसको मानव कोषसँग टाँसिने अङ्ग स्पाइक प्रोटिनमा उल्लेख्य परिवर्तन भएको छ ।
त्यसको परिणाम स्वरूप कोषलाई सङ्क्रमित बनाउने र भाइरस फैलाउने उनीहरूको क्षमता बढी छ ।
विज्ञहरूले यूके वा केन्टबाट सुरु भएको प्रजाति सेप्टेम्बरमा देखा परेको र त्यो सम्भवत ७० प्रतिशत बढी फैलनसक्ने वा सङ्क्रामक हुनसक्ने बताएका छन् ।
पब्लिक हेल्थ इङ्ल्यान्डले गरेको पछिल्लो अनुसन्धानले त्यो प्रतिशत ३० देखि ५० को हाराहारीमा हुने उल्लेख गरेको छ ।
अक्टोबरमा दक्षिण अफ्रिकामा देखा परेको प्रकारको स्पाइक प्रोटिनमा सम्भवत अझ महत्त्वपूर्ण परिवर्तनहरू देखिएका छन् ।
यूकेमा देखा परेको कोरोनाभाइरसको सानो सङ्ख्यामा त्यस्तै परिवर्तन देखा परेको हालै फेला पारेका विज्ञहरूले त्यसप्रति चिन्ता जनाएका छन् ।
त्यसमा ईफोरएटफोरके भनिने प्रमुख उत्परिवर्तन पनि छ जसले भाइरसलाई एन्टीबडी भनिने प्रतिरोधी प्रणालीको हिस्सालाई छल्न मद्दत गर्नसक्छ ।
ब्राजिलमा जुलाइमा नयाँ प्रकारको कोरोनाभाइरस देखा परेको हो र त्यसमा पनि ईफोरएटफोरके उत्परिवर्तन देखा परेको छ ।
के खोपले काम गर्छ?
अहिले विकास गरिएका खोपहरू कोरोनाभाइरसका अघिल्ला प्रकारहरूसँग जुझ्न बनाइएको भएपनि वैज्ञानिकहरूले उनीहरूले नयाँ भाइरसविरूद्ध पनि काम गर्ने विश्वास लिएका छन् । तर खोप कम प्रभावकारी हुनसक्ने भने बताइएको छ ।
नयाँ प्रकारका कोरोनाभाइरसविरूद्ध फाइजर खोप प्रयोग गरिदाँ त्यो थोरै कम प्रभावकारी भएको प्रारम्भिक अध्ययनमा पाइएको थियो ।
चाँडै अनुमति पाउने भनिएका नोभाभ्याक्स र जेनसेन दुईवटा खोपहरूले पनि केही सुरक्षा दिने देखिन्छ ।
अक्सफर्ड आस्ट्राजेनेकाको खोप टोलीको तथ्याङ्कले यसले यूकेमा देखा परेको नयाँ प्रकारको कोरोनाभाइरसविरूद्ध सुरक्षा दिने पाइएको छ ।
तर उक्त खोपले दक्षिण अफ्रिकामा देखिएको भाइरसको प्रकारमा कम सुरक्षा दिने भएपनि गम्भीर बिरामीबाट जोगाउने भनिएको छ ।
प्रारम्भिक परिणामले मोडेर्ना खोप दक्षिण अफ्रिकामा देखिएको नयाँ खालको भाइरसविरूद्ध प्रभावकारी हुने सङ्केत दिएको छ तर प्रतिरोधी प्रतिक्रिया दीर्घकालीन नहुनसक्ने भनिएको छ ।
भविष्यमा अझ फरक प्रकारका कोरोनाभाइरसका प्रकारहरू पनि देखा पर्नसक्छन् ।
सबैभन्दा खराब अवस्थामा खोपमा परिवर्तन गर्न वा त्यसलाई समयसापेक्ष बनाउन सकिन्छ जसका लागि हप्तौँ वा महिनौँसम्मको समय लाग्नसक्ने विज्ञहरू बताउँछन् ।
त्यस्तो परिवर्तनको अवस्थामा रुघाखोकीका लागि जस्तै प्रत्येक वर्ष कोरोनाभाइरसविरुद्ध नयाँ सुइ दिनुपर्ने हुनसक्छ ।
यसको बारेमा के गरिदैँछ ?
नयाँ किसिमका कोरोनाभाइरसहरू देखा परिरहेका छन् ।
विश्वभरका वैज्ञानिकहरूले नजिकबाट नियालिरहेका छन् र महत्वपूर्ण प्रकारका भाइरसहरूलाई नजिकबाट अध्ययन र अनुगमन गरिरहेका छन् ।
विज्ञहरूले कोरोनाभाइरसको खोपलाई थप परिमार्जित गर्न अहिले नै काम गरिरहेका छन् ।
यूके सरकारले बायोफर्मास्युटिकल कम्पनी क्योरभ्याकसँग भविष्यमा देखापर्ने कोरोनाभाइरसको प्रकारविरूद्ध खोप विकास गर्ने विषयमा सम्झौता गररहेको छ ।
दक्षिण अफ्रिकामा देखा परेको प्रकारको कोरोनाभाइरस र अरू प्रकारका इफोरएटफोरके उत्परिवर्तन देखा परेका कोरोनाभाइरसविरूद्ध तत्कालै परीक्षण गर्ने काम ब्रिटेनका विभिन्न ठाउँहरूमा भइरहेको छ ।