एस्ट्राजेनेकाले विकास गरेको खोपको व्यापक प्रयोगका लागि डब्लुएचओले दियो अनुमति

एजेन्सी, २९ माघ । विश्व स्वास्थ्य संगठनले अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको कोरोना विरुद्धको खोपको व्यापक प्रयोगका लागि अनुमति दिएको छ ।
संगठनको बुधवार बसेको एक प्यानल बैठकले एस्ट्राजेनेकाले विकास गरेको कोरोना विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको भन्दै यसको प्रयोग ठूलो संख्यामा गर्नका लागि अनुमति दिएको हो ।
यस खोपको प्रयोग जुन देशमा कोरोनाको नयाँ भेरिएन्ट देखिएको र त्यसलाई नियन्त्रण गर्नमा प्रभावकारी रहेको देखियो ती देशमा पनि प्रयोग गर्न सकिने प्यानले बताएको छ । हालै मात्र एस्ट्राजेनेकाले विकास गरेको कोरोना विरुद्धको खोपलाई लिएर दक्षिण अफ्रिकामा विवाद उत्पन्न भएको थियो । विवादका बाबजुद विश्व स्वास्थ्य संगठनले एस्ट्राजेनेकाको खोपलाई अनुमति दिएको हो ।
विश्व स्वास्थ्य संगठनको स्ट्रेटेजिक एडभाइजरी ग्रुप अफ एक्सपर्ट्स अन इम्युनाइजेसन (एसएजीई) ले खोपको दुई डोज मात्रै आवश्यक रहेको र ८ देखि १२ हप्ताको अन्तरालमा पहिलो खोपको डोजपछि अर्को खोप दिनु पर्ने बताएको छ । साथै प्यानलले यो खोप ६५ वर्षभन्दा बढी उमेर समूहका लागि यो खोप सुरक्षित रहेको हुनाले उनीहरुलाई पनि यो खोप दिन सकिने बताएको छ ।
सेजका प्रमुख ऐलेजेन्द्रो क्राविओटोले एस्ट्राजेनेकाको खोपको प्रभावकारितालाई लिएर सबैलाई अश्वास्त पार्दै दक्षिण अफ्रिकामा खोपलाई लिएर प्रश्न उठेपनि अन्य मुलुकमा खोपको प्रयोग रोक्नु उचित नभएको बताए ।
दक्षिण अफ्रिकामा एस्ट्राजेनेकाको खोपको प्रयोगमा रोक लगाइएको थियो । दक्षिण अफ्रिकामा कोरोना भाइरसको 501Y.V2 भेरिएन्टको विरुद्ध खोप प्रभावकारी नदेखिएपछि खोपको प्रयोगमा रोक लगाइएको थियो । साथै सामान्यदेखि गम्भीर प्रकृतिका बिरामीमा पनि खोपको कुनै प्रभाव नदेखिएको भन्दै खोपमाथि नै प्रश्न उठेको थियो ।