नेपालमा लागाइएको अक्सफोर्ड एस्ट्राजेनेकाको खोपले गम्भीर बिरामीसँगै सङ्क्रमण पनि रोक्ने
बीबीसी, २१ माघ । नेपाल लगायत विश्वका धेरै देशमा प्रयोगमा रहेको अक्सफोर्ड एस्ट्राजेनेका खोपले कोरोना विरुद्धको गम्भीर बिमारीमात्र नभइ सङ्क्रमण पनि रोक्ने दाबी गरिएको छ । यो खोपको प्रयोगले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा उल्लेखनीय प्रगति आउनसक्ने वैज्ञानिकले बताएका छन् ।
महामारीले विश्वलाई नै आक्रान्त पारिरहेका बेला यो खोपले सङ्क्रमण नियन्त्रणमा समेत प्रभाव देखिए पछि महामारीलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । खोप लगाएपछि व्यक्तिले भाइरस सार्न पनि सक्दैन भने त्यसले अप्रत्यक्ष रूपमा खोप नलगाएका व्यक्ति पनि सुरक्षित हुन पुग्ने वैज्ञानिकलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
यसले कोरोना महामारी नियन्त्रणमा ठूलो सफलता प्राप्त हुने खबरमा दाबी गरिएको छ । अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनमा सहभागीलाई हरेक हप्ता भाइरस रहे नरहेकोबारे परीक्षण गरिएको थियो । अध्ययनमा खोपको दुई मात्रा प्राप्त गरेका व्यक्तिमा परीक्षणमा भाइरस देखिने आँकडा आधाले घटेको पाइयो ।
साथै यो खोपको एकै मात्राको प्रयोगले पनि मानिसलाई कोरोनाबाट राम्रो सुरक्षा दिइरहेको पाइएको अध्ययनले देखाएको छ । पहिलो मात्रा लिइसकेपछिको तीन महिनासम्म पनि खोप ७६ प्रतिशत प्रभावकारी रहेको पाइएको छ । अध्ययनमा बेलायत, दक्षिण अफ्रिका तथा ब्राजिलका १७ हजार मानिस सहभागी थिए ।