एस्ट्राजेनेकाको खोप '६५ वर्ष भन्दा कम उमेर समूहमा मात्र दिन' जर्मन समितिको सिफारिस



Download our app to get more features

बीबीसी, १६ माघ । जर्मनीको खोप समितिले एस्ट्राजेनेकाको कोभिड खोप ६५ वर्ष भन्दा कम उमेर समूहका मानिसहरूलाई मात्र दिइनुपर्ने जनाएको छ ।

ब्रिटिश जनस्वास्थ्य अधिकारीहरूले उक्त खोप सुरक्षित रहेको र 'उच्च तहको सुरक्षा दिने' बताएका छन् ।

उक्त समितिले जेष्ठ मानिसहरूमा हुने प्रभावकारिताका विषयमा अक्सफर्ड/एस्ट्राजेनेका खोपको 'अपर्याप्त तथ्याङ्क' रहेको भन्दै त्यस्तो बताएको हो ।

युरोपेली औषधि नियामकले शुक्रवार युरोपेली सङ्घमा उक्त खोपलाई प्रयोगको स्वीकृति दिने/नदिने टुङ्गो लगाउँदैछ ।

यूकेले केही सातायता आफ्ना धेरैजना नागरिकका लागि यो खोप प्रयोग गरिरहेको छ ।

विवादबीच जर्मन सुझाव
उक्त क्षेत्रीय समूहभित्र खोप आपूर्तिमा भइरहेको ढिलाइलाई लिएर शीर्ष उत्पादकहरूसँग विवाद भइरहँदा जर्मनीको त्यस्तो घोषणा आएको हो ।

यूकेमा रहेको एस्ट्राजेनेका कम्पनीले यो वर्षको पहिलो त्रैमासिकमा यसअघि आफूले वाचा गरेको मात्राको केही अंश मात्र आपूर्ति गर्न सक्ने बताएसँगै ईयू नेताहरू क्रुद्ध भएका थिए ।

उक्त कम्पनीले युरोपमा रहेका आफ्ना प्लान्टमा समस्या आउनुलाई त्यसको कारण बताएको छ ।

ईयूले एस्ट्राजेनेका कम्पनीलाई यूकेमा रहेको उत्पादन केन्द्रबाटै भएपनि आफूहरूलाई कोभिड-१९ खोपको वाचा गरेको मात्रा उपलब्ध गराउन माग गरेको छ ।

ईयूले सदस्य राष्ट्रहरूलाई आफ्नो खोप सुनिश्चित गर्नका लागि 'सबैखाले कानुनी उपचारको प्रयोग गर्न' समेत आग्रह गरेको छ ।

२७ सदस्य राष्ट्र रहेको ईयूसँग अझ ठूलो खोपको सम्झौता गरेको फाइजर/बायोएनटेकले समेत ढिलासुस्ती गरिरहेको छ ।

सिफारिस र बचाउ
एउटा स्वतन्त्र खोप समितिले जर्मन सरकारलाई एउटा सिफारिस गर्दै 'जुनसुकै खेपमा त्यो १८-६४ उमेर समूहका मानिसहरूलाई मात्र दिइनुपर्ने' भनेको हो ।

तर पब्लिक हेल्थ इङ्ल्याण्डका खोप कार्यक्रम प्रमुख डा. मेरी राम्सेले एस्ट्राजेनिका र फाइजर-बायोएनटेक खोपहरू सुरक्षित रहेको बताएकी छन् ।

उनले भनिन्, "जेष्ठ नागरिकहरूको सो उमेर समूहमा मिहिन ढङ्गले हेर्नुपर्ने घटना निकै कम थिए । तर त्यसले प्रतिरोध जनाउने तथ्याङ्क भने निकै भरपर्दा थिए ।"

ब्रिटिश प्रधानमन्त्री बोरिश जोन्सनले जर्मन समितिको सिफारिसबाट आफू चिन्तित नभएको बताएका छन् ।

यसैबीच युनिभर्सिटी अफ इस्ट एङ्लियामा औषधी विषयका प्राध्यापक पल हन्टरले भनेका छन्, "गम्भीर रोगबाट बचाउन यस खोपले ६५ वर्ष भन्दा माथिल्लो उमेर समूहमा लगभग उल्लेख्य फाइदा दिने र अस्पताल जानुपर्ने अवस्था कम गर्नेछ ।"

Last modified on 2021-01-30 07:20:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts