ब्लुक्रस अस्पतालका नर्स भन्छन्ः अस्पतालको हौसलाले महामारीमा काम गर्ने आँट आयो



Download our app to get more features

मनिषा चित्रकार, सिनियर नर्स 


विश्वमा कोभिड १९ महामारी फैलिरहेको अवस्थामा सबैजना आ आफ्ना घरमा सुरक्षितसाथ बसिरहेका थिए । हामी स्वास्थ्यकर्मी भने मनमा सेवा गर्ने आँट बोकेर अस्पतालमा सेवा दिएर बसेका थियौं । त्यसमाथि पनि हामी नर्सहरु बिरामीको सिधै सम्पकर्मा रहेर बिरामीको उपचारमा संलग्न हुनुपर्ने  हुन्थ्यो । 

बिरामीको हेर विचार गर्दा संक्रमण फैलिने डर बोकेर भएपनि दिनरात खटिनु सेवालाई निरन्तरता दियौं । महामारीको समयमा हामी नर्सहरुले धेरै मास्क, ह्याण्ड ग्लोब्स र अन्य सुरक्षाका लागि आवश्यक सामानको अभावको सामना गर्दै बिरामीको सेवामा लाग्नु परेको थियो । 

कर्मचारीको अभावले गर्दा दिनमा १८ घन्टासम्म डुयूटी गर्नुपरेको थियो । कतिपय घर भाडामा बस्ने नर्सहरुको पीडा भने छुट्टै थियो । घरधनीले र छिमेकमा बस्ने मानिसले यहाँ नबस्न हामीलाई पनि सर्छ भन्ने समस्या धेरै आयो । कतिपय घर परिवारका सदस्यहरुलाई सुरक्षित राख्न अस्पतालमै १४ दिन क्वारेन्टाइन बसे कतिपयले घर परिवारको दवावमा आएर वा डराएर जागिर नै छोडे । घरपरिवारलाई सम्झाउने र बुझाउने काम गरेर काम गर्नुपर्ने हुँदा कतिलाई झेल्नुपरेको थियो ।

‘सबैलाई आफ्नो ज्यानको माया त लाग्छ नी होइन र ?’ म एउटा नर्स मात्र नभएर एउटा आमा पनि हुँ । परिवार टाँढा बस्नुपदौ मन साह्रै दुख्थ्यो । परिवारसँग टाँढा बसेर नाखा खाने र सामानहरु अलगै चलाउनु पर्ने हुन्थ्यो ।

कोभिड १९ को महामारीले विश्व नै आतंकित भइरहेको अवस्थालाई केही हदसमम पार गरि सहज अवस्थासम्म आइपुग्दा सामना गरेको समस्याहरु हेर्दा नेपाल सरकारले स्वास्थ्यकर्मीलाई दिनुपर्ने सुविधा नपाएको आभास हुन्छ ।

कोभिड सुरक्षा सामानको अभावको अवस्था भएपनि ब्लु क्रस हस्पिटलले विभिन्न तरिकाबाट हामीलाई सामानहरु उपलब्ध गराई बिरामीको सेवा गर्ने वातावरण बनाइ दिएकोमा हस्पिटल व्यवस्थापनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

साथै कोभिड वारियरको रुपमा युद्धको मैदानमा सिपाहीहरुले आफ्नो ज्यानको माया समेत नगरी लडाई लडे जसले हामी नर्सहरुले समेत यस कोरोना महामारीको युद्धमा नर्सहरुले समेत यस कोरोना महामारीको युद्धमा सिपाही सरह आफ्नो ज्यानको माया नगरी देशको लागि स्वास्थ्य क्षेत्रमा केहि योगदान गर्न पाएकोमा निकै गर्व लागेको छ र देशको सम्बन्धीत निकायहरुले हामी जस्तो नर्सहरुको अवश्य एक दिन सहि मूल्यांकन गर्नेछ भन्ने भित्रि मनले विश्वास समेत लिएको छु ।

प्रश्ना कोइराला, नर्स


बिरामीको सेवा गर्नुको खुशी नै फरक हुन्छ भन्ने मनमा लागेर मैले नर्सिङ पढे । यो पेशामा लागेको धेरै भएको छैन । एक वर्ष भयो म त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटलमा काम गरिरहेको छु । काम गर्दा रमाइलो हुँदै थियो । काम सुरु गरेको पनि धेरै भएको थिएन । त्यति मै कोरोना महामारी सुरु भयो । 

सुरु सुरुमा जब चीनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसबेला खासै डर त थिएन तर, जसरी समय बित्दै गयो र नेपालमा पनि संक्रमण एकपछि अर्को पुष्टि हुन थाल्यो अनि मनमा डर हुन थाल्यो । काम गर्ने क्रममा अस्पतालमा बिरामी आउँदा जसरी सामान्य अवस्थामा गएर बिरामीलाई सेवा दिन पाइन्थ्यो त्यसरी सेवा गर्न पाइएन । 

कोरोना महामारीले जब नेपालमा प्रवेश भयो त्यसरी नै मनमा अनेक कुराहरु खेल्न थाल्यो । अब कसरी यो महामारीको बेला काम गर्ने भनेर मनमा डर पनि भयो । भयो अब जागिर गर्दिन, मलाई केहि भयो भने के गर्छु भन्ने पनि मनमा लाग्यो । म निकै आत्तिए पनि । तर, मेरो घरमा मलाई सँधै कामको लागि हौसला दिन कहिले छोड्नुभएन । अरुको कुरा सुन्दा आमा बुबाले नै पर्दैन काम गर्न भनेर भन्ने गरेको सुन्थे तर मेरो घरमा ठिक उल्टो थियो । मैले काम नगर्ने भनेर कुरा भन्दा आमा बुबाले बिरामीको सेवाका लागि पढाइ गरेको अनि अहिले यस्तो बेलामा झन् काम गर्नुपर्नेमा काम नगर्ने भन्नु ठिक होइन, बरु जे पर्छ हामी सहौंला भनेर हौसला दिनु हुन्थ्यो । घरमा यस्तो सकारात्मक वातावरण र आमा बुबाको हौसलाले मैले मनमा आएका सबै नकारात्मक कुरालाई निकालेर बिरामीको सेवा गर्ने सोचेर कामलाई निरन्तरता दिए ।

म इमर्जेन्सी विभागमा काम गर्छु । जहाँ बिरामी सबैभन्दा पहिले आउने गर्छन् । काम गर्ने क्रममा विभिन्न प्रकारका बिरामीहरु अस्पताल आउने र उनीहरुको जाँचका लागि जाँदा मनमा डर त हुन्थ्यो तर अस्पतालको व्यवस्थापनले विस्तारै त्यो डरपनि हराएर गयो । दिन, हप्ता, महिना गर्दै कोरोना सुरु भएको पनि वर्ष दिन बितिसक्यो र यो अवस्थामा हालसम्म म ठिक र सुरक्षित भएर काम गरिरहेको छु ।

मेरो हकमा कोरोना महामारीको बेला जसरी घरमा हौसला दिनुभयो त्यसरी नै अरुको पनि घरमा अभिभावक र छर छिमेकले हौसला दिने काम गरिदिनु पर्थ्यो जस्तो लाग्छ । किन भने हामी नर्स भनेको बिरामीको सेवाका लागि हुन्छौं । हामी पनि मान्छे हो । हामीलाई नि डर लाग्छ । तर, कतिपय अवस्थामा बिरामीहरु उपचारका लागि आउँदा समस्याहरु खुलेर नभन्दा झन् डर हुने गर्थ्यो । तर, अस्पतालले हामीलाई सुरक्षा सामग्री उपलब्ध गराएको थियो र कोरोना कालमा पनि अस्पतालबाट पनि हौसला दिनु हुन्थ्यो । त्यसले पनि काम गर्नका लागि उर्जा थपिदिन्थ्यो । 

हाल आएर अवस्था सामान्य हुँदै गएको छ । तर, हामी ढुक्क भएर बस्ने अवस्था छैन । त्यसकारण हामी सबै सचेत हुनुपर्छ । सबै बिरामीको सेवामा जसरी डाक्टरहरु खट्नुहुन्छ त्यसरी नै नर्सहरु पनि खटिन्छन् । नर्सलाई पनि डाक्टर समाज सरह गर्नुपर्छ ।

Last modified on 2021-01-29 14:39:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts