नयाँ प्रजातिको कोरोनाविरुद्ध मोडर्ना खोप ‘प्रभावकारी’
एजेन्सी, १३ माघ । अमेरिकी कम्पनी मोडर्नाले निर्माण गरेको खोप नयाँ प्रजातिको कोरोना भाइरसविरुद्ध पनि प्रभावकारी हुने देखिएको छ । यूके र दक्षिण अफ्रिकामा गरिएको परीक्षणमा उक्त खोप प्रभावकारी पाइएको कम्पनीका वैज्ञानिकहरूले जनाएका हुन् ।
उनीहरूका अनुसार प्रयोगशालामा गरिएका परीक्षणमा उक्त खोपले विकसित एन्टिबडीले नयाँ प्रजातिको भाइरसविरुद्ध लड्न सक्ने देखिएको हो ।
यद्यपि यसबारे थप यकिन गर्न विस्तृत अध्ययन आवश्यक भएको वैज्ञानिकहरूको भनाइ छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रजाति विश्वका विभिन्न मुलुकमा फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हाल ६० भन्दा बढी देशमा उक्त भाइरस पुष्टि भइसकेको छ ।
यूकेमा सेप्टेम्बरबाट सुरु भएको ठानिएको नयाँ प्रजाति पहिलेको तुलनामा कम्तीमा ७० प्रतिशत बढी संक्रामक देखिएको छ । हाल विभिन्न देशमा प्रयोगका लागि अनुमति पाएका करिब आधा दर्जन खोप कोरोना भाइरसको पहिलेको प्रजातिका आधारमा विकसित गरिएका हुन् । वैज्ञानिकहरूले त्यस्ता खोपले नयाँ प्रजातिको भाइरसविरुद्ध पनि प्रभावकारी हुने बताएका भए पनि हालसम्म कुनै परीक्षण गरिएको थिएन ।
यसैबीच, कोरोनाविरुद्धको खोप लिएकाहरूले समेत अन्य मानिसलाई भाइरस सार्न सक्ने देखिएको छ ।
इंग्ल्यान्डका सहायक मेडिकल प्रमुख अधिकृत प्राध्यापक जोनाथन भ्यान टामले ‘अझैसम्म भाइरस प्रसारमा खोपको प्रभावबारे थाहा नभइसकेको’ समेत जनाएका छन् । उनले खोपले आशा जगाएको भए पनि संक्रमणको दर चाँडै कम गरिनुपर्ने बताए ।
‘कुनै पनि खोप शतप्रतिशत प्रभावकारी नदेखिएका कारण सुरक्षा हुन्छ नै भन्ने निश्चित छैन,’ टामले भने । उनका अनुसार खोप लगाएको दुईदेखि तीन सातासम्म पनि भाइरसबाट संक्रमित हुन सक्ने सम्भावना रहन्छ । वृद्ध मानिसमा खोपको प्रभाव पूर्णरूपमा विकसित होस् भनेर कम्तीमा तीन साताको समय दिनु उपयुक्त हुने उनको भनाइ छ । ‘खोपको दुवै मात्रा प्राप्त गरिसकेको अवस्थामा समेत तपाईंले अरूलाई भाइरस सार्न सक्नुहुन्छ,’ टामले भने ।
यूकेका वरिष्ठ चिकित्सकहरूले यसअघि फाइजर–बायोएनटेकले विकास गरेको खोपका दुई मात्रा दिनका लागि तोकिएको समयसीमा घटाउन आग्रह गरेका थिए । यूकेमा खोपको पहिलो मात्रा लिएको १२ सातापछि दोस्रो मात्रा दिने गरी समयसीमा बढाइएको थियो ।
ब्रिटिस मेडिकल एसोसिएसनले उक्त निर्णय उपयुक्त रहेको पुष्टि गर्न सम्भव नरहेको बताउँदै खोप दिने समयको अन्तराल ६ साता कायम गरिनुपर्ने बताएको हो ।