युरोेपमा कोभिड खोपको अभाव, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित
बीबीसी, १० माघ । कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेको अर्को एउटा कम्पनीले वितरणमा समस्या हुन सक्ने बताएसँगै युरोपेली सङ्घ निराश बनेको छ ।
यूकेको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने बताएको छ ।
युरोपका कयौँ भागमा फाइजर/बायोएनटेकले वाचा गरे अनुरूपको आपूर्ति नगरेपछि कोभिडको खोप दिने काम सारिएको वा रोकिएको बताइएको छ ।
अक्सफर्ड विश्वविद्यालयसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाले एक विज्ञप्ति जारी गर्दै पछिल्लो अवस्थाबारे जानकारी गराएको हो ।
यो खोपलाई हालसम्म सङ्घको नियामक निकायले प्रयोगका लागि स्वीकृत गरिसकेको छैन ।
यो महिनाको अन्त्यसम्ममा खोपलाई स्वीकृत दिन सकिने बुझिएको छ ।
कयौँ युरोपेली देशमा सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेका बेला अमेरिकी औषधि उत्पादक कम्पनीले अस्थायी रूपमा आपूर्ति घटाउँदा खोप वितरण प्रभावित भएको हो ।
खोप कार्यक्रम रोकियो
जर्मनीको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य र इटलीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ ।
म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिने समेत बन्द गरिएको छ ।
गत साता फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो ।
बेल्जियममा एउटा कारखानाको क्षमता विस्तारको काम भएकाले ढिलो हुने फाइजरले बताएको थियो ।
ईयूले फाइजरबाट मात्र ६० करोड डोज खोप मगाएको छ । उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ ।
ढिलासुस्तीलाई लिएर हङ्गेरीका दक्षिणपन्थी प्रधानमन्त्री भिक्टोर अर्बानले ईयूले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
उनले अक्सफर्ड/एस्ट्राजेनिकाको खोप स्वीकृतिमा भइरहेको ढिलाइलाई लिएर ईयूप्रति असन्तुष्टि पोखेका छन् ।
ईयूले हालसम्म स्वीकृति नदिए पनि हङ्गेरीले धेरै मात्रामा स्पुत्निक भी खोप किन्नका लागि रूससँग एउटा सम्झौतामा पुगेको छ ।
यो उसको ईयूले चालिरहेको साझा रणनीतिभन्दा भिन्न कदम हो ।
हङ्गेरीले प्रारम्भिक स्वीकृति दिँदै तेस्रो चरणको मानव परीक्षणका लागि प्रयोग गर्ने बाटो खोलिदिएको छ ।
हङ्गेरीले हालै चीनको सिनोफार्म किन्नका लागि बेइजिङसँग पनि एउटा सम्झौता गरेको छ ।
कानुनी कारबाहीको धम्की
इटली र पोल्यान्डले उत्पादन घटाउने कदमविरुद्ध कानुनी उपचारमा जाने धम्की दिएका छन् ।
युरोपेली आयोगले पनि स्वीकृति भइसकेका कोरोनाभाइरसको खोपको आपूर्तिमा भइरहेको ढिलाइका विषयमा फाइजरसँग स्पष्टीकरण सोध्ने बताएको छ ।
इटलीका थुप्रै क्षेत्रले दोस्रो खेपको सुनिश्चितता नभएसम्म पहिलो खेप नै नलगाउने बताएका छन् ।