कोभिड भ्याक्सिन उत्पादक कम्पनी सेरमको आगलागीमा ५ जनाको मृत्यु
एजेन्सी, ९ माघ । भारतको पुणेस्थित कोभिड १९ विरुद्ध दिइने भ्याक्सिन उत्पादक कम्पनी सेरममा बिहीबार दिउँसो भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ। कम्पनीको निर्माणाधीन भवनमा आगलागी भएको हुँदा उनीहरूको मृत्यु भएको हो।
कोभिड भ्याक्सिन उत्पादन प्लान्टकै छेउमा रहेको अर्को प्लान्टमा आगलागी भएको बताइएको छ। कोभिड भ्याक्सिन प्लान्टमा भने क्षति नभएको र कोभिड(१९ खोपको उत्पादनमा कुनै असर नपरेको कम्पनीले जनाएको छ।आगलागीको कारण भने हालसम्म खुलेको छैन।
सय एकडको क्षेत्रफलमा रहेको भवनमा दिउँसो २ बजेर ४५ मिनेटमा आगो लागेको थियो। सेरम इन्स्टिच्युटलाई ठूला खोप उत्पादक कम्पनीको सूचीमा अग्रस्थानमा आउनेमध्ये एक मानिन्छ।
सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेको कोरोना भाइरसविरुद्ध खोपलाई कोभिसिल्ड उत्पादन गर्दै आएको छ। यो भ्याक्सिनको १० लाख डोज बिहीबार मात्रै भारत सरकारको अनुदानमा नेपालमा आइपुगेको छ।