बालबालिकामा हुने बाथरोग जोखिमपूर्ण, डा.भट्टराईबाट जानौं रोग र जोगिने उपायबारे
भिडियोसहित
बालबालिकामा देखिने विभिन्न स्वास्थ्य समस्या मध्येको अति महत्वपूर्ण विधा हो, रोग प्रतिरोधात्मक शक्ति गडबडीका कारण लाग्ने रोग एवं बाथ र बाथजन्य रोग । सामान्य भाषामा बुझ्दा बालबालिकामा रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आउनाले यी रोग लाग्न सक्छन् ।
Pediatric Immunology भनेको शरीरमा रहेको रोगसँग लड्न सक्ने क्षमता र शक्तिको विकासमा कमी आउनु वा गडबडी हुनुको अध्ययन निदान र उपचारको चिकित्सा विज्ञान हो । अथवा शरीरमा रोगसँग लड्ने क्षमताको विकास भइसकेपछि पनि त्यसको कमी या सन्तुलनमा गडबडी हुनुको करङ उब्जने बिमारको विज्ञान हो यो । कतिपय अवस्थामा जन्मजातै अर्थात् आमाको गर्भमा शिशुको विकास हुने क्रममा जिनमा हुने खोटले रोगसँग लड्ने शक्तिको सन्तुलनमा गडबडी, कमी हुनु या जन्मपश्चात इम्युन शक्तिमा आउने तमाम कमीका कारण रोग प्रतिरोध क्षमताका रोगहरु हुन सक्छ ।
Pediatric Reumatology अर्थात् बालबालिकामा हुने बाथ वा बाथजन्य रोग हुन् । बाथजन्य रोगहरु वंशाणु अनि वातावरणीय असर इत्यादिबाट शरीरको इम्युन सन्तुलन बिग्रनुले हुने गर्छ । यसमा जोर्नी, छाला, हाड, रक्तनलि, स्नायु नसा, आन्तरिक अंगहरुमा बहुप्रणालीगत समस्या देखिन सक्छन् ।
उदाहरणका लागि मुटु सम्बन्धी रोग मुटुमा हुन्छ, मिर्गौला सम्बन्धी रोग मिर्गौलामा लाग्ने गर्छ भने बाथ वा बाथजन्य रोगमा शरीरका अन्य अंगहहरु जस्तै छाला, जोर्नी, फोक्सो, श्वासप्रश्वास, मुटु, मृगौला, हड्डी इत्यादि विभिन्न प्रणालीहरु लगायतका अङ्गमा असर पर्ने गर्छ । त्यसैले यस रोगमा शरीरको कुनै एउटा अंग नभई विभिन्न अंगहरु प्रभावित हुन सक्छन् । त्यसकारण यसमा शरीरका विभिन्न अंगहरुमा समस्या पर्ने हुँदा बहुप्रणाली समस्या देखिएमा र्युमाटोलोजिकल बिमारी त होइन भनेर सोच्न जरुरि छ ।
अभिभावक र चिकित्सकले बुझ्नु पर्ने कुरा यसमा के छ भने, कुनैपनि बालबालिकालाई बारम्बार संक्रमण भइराख्ने, छाला तथा अन्तरिक अंगमा समस्या भईराख्ने, बारम्बार अस्पताल भर्ना भइराख्ने, बिरामी भयो भने सञ्चो नै नहुने, अनौठो र कमजोर प्रकृतिका किटाणुहरुले पनि संक्रमण गराउने, हरेक पटक Intravenous औषधिको आवश्यकता पर्ने लगायतका समस्याहरु देखिएमा सचेत हुनु पर्छ कि कतै मेरो बच्चामा रोग प्रतिरोधात्मक क्षमताको कमजोरीले गर्दा त यी समस्या देखिएका त होइनन् ? यी र यस्ता विषयमा अभिभावक बढी सचेत हुनु पर्छ ।
यस्ता समस्या देखिनासाथ अभिभावकले सम्बन्धीत विशेषज्ञसँग परामर्श समयमै गर्न सकियो भने समस्याको निदान र उपचार सम्भव हुन सक्छ । समयमै रोगको पहिचान भयो भने सामान्य औषधिदेखि जटिल प्रकारका बोन म्यारो ट्रान्सप्लान्ट गर्ने सम्मको उपचार गर्न सजिलो हुन्छ । अर्को भनेको यदि समयमै यस रोगको निदान गर्न सकेनौं भने त्यसले दीर्घकालिक रुपमा असर पर्ने, अंगभंग हुने अनि ज्यान समेत जाने हुन सक्छ ।
कतिपय बाथ र बाथजन्य रोग तत्कालिन र अति सघन हुन्छ । जस्तै कावासाकी रोगले बच्चाको मुटुका रक्तनली जोखिममा पार्ने हुन्छ । र्युमाटिक ज्वरोले जोर्नी र मुटुमा असर पारेर तत्कालिन र दिर्घकालिन समस्या निम्त्याउन सक्छ । अर्को अहिले कोभिडको समय हालसालै बालबालिकामा देखिएको बाथजन्य रोग हो ‘मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन’ अर्थात् एम.आई.एस.सी. यो रोगपनि बालबालिकामा इम्युन प्रतिक्रियाका कारण रोग प्रतिरोधात्मक क्षमतामा गडबडी भएर बढी इन्फ्लेमेशन भएर लाग्ने गर्छ ।
‘मल्टिसिःटेमिक इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन’ अर्थात् एम.आई.एस.सी. कोविड पश्चात इम्युन–प्रतिक्रियात्मक इन्फ्लाम्मेटरी (सुजन गराउने) रोग हो । २०२० अप्रिलमा पहिलोपटक युरोपमा पाइएको कोविड बिरुद्धको इम्युन प्रतिक्रिया स्वरूप लाग्ने यो रोगको पहिचान र नामकरण रोगको प्रकृतिअनुसार हाइपरइन्फ्लामेसन (अति सुजन) मुख्य रुपले देखिएको थियो । यस रोगमा कोविड पश्चातको इम्युन प्रतिक्रिया भएको पाइएको छ । यसर्थ, कोविडले बच्चा र किशोरमा जटिलता नल्याउने कुरा असान्दर्भिक हो भन्ने बुझ्नु जरुरी छ । साथसाथै र्युमाटोलोजी भनेको जोर्नी मात्रैको विज्ञान होइन भन्ने पनि यसबाट बुझ्न जरुरि छ ।
Pediatric Immunological / Reumatological रोग दीर्घरोग मात्र होइन कावासाकी रोग, लुपस, MIS-C जस्ता थुप्रै तत्काल असर छोड्ने तत्कालिन, सघन र गम्भीर रोग पनि हुन सक्छन र एम आई एस सी को हकमा कुरा गर्दा इम्युन–प्रतिक्रियात्मक यो रोगबाट कुनै बच्चा या किशोरलाई जटिलता ल्याउने अवस्थामा पुग्न नदिन अभिभावकले हालको परिवेशमा ज्वरोसँगै आउने अरु लक्षणलाई विशेष ध्यान दिनुपर्छ । तीनमा उच्च ज्वरोसँगै डाबर आउने, आँखा, जिब्रो या ओठ रातो हुने, पखाला लाग्ने, पेट या टाउको दुख्ने, चिडचिडे, आलस्य या सुस्त हुने, हृदयगति बढ्ने, हातखुट्टा सुन्निने, स्वासप्रूवासमा कुनैपनि प्रकारको समस्या आउनेजस्ता लक्षण देखिएमा तूरुन्त परामर्श लिनुपर्छ ।
जन्मजात हुने इम्युनकमीका रोग बढी हुने भएपनि जन्मपश्चात पनि इम्युन कमीका इम्युनोलोजिकल रोगहरु कुपोषण, खराब वाताबरण, खराब आदत, शारीरिक असन्तुलन, अटोइम्युनिटी (स्व–प्रतिरोधी), भाइरसहरुको संक्रमण जस्तो की एचआईभी, क्यान्सर वा क्यान्सरका औषधि अथवा कोष–भंजक औषधिको सेवन इत्यादि ले हुन सक्छ । कुनैपनि बच्चा सामान्य किटाणुले गम्भीर बिरामी हुँदा त्यो पनि रोग प्रतिरोधात्मक क्षमताको कमजोरीले हो कि भनि सोचिनु पर्छ ।
समयमा निदान भए यसको उपचार नै नहुने भन्ने छैन । यसको उपचार सम्भव छ । समयमै यदि रोगको पहिचान भयो भने यो रोगबाट बालबालिकालाई जोगाउन सकिन्छ । सामान्य उपचारदेखि बोन म्यारो ट्रान्सप्लान्ट र जिन थेरापीसम्मका उपचार विधिहरु यसमा उपलब्ध छन् ।
बाथजन्य रोगमा भने सबैजसो रोगका उपचार सम्भव छन् र तर यसमा रोगको सही निदान र सही उपचार सही अवधिमा दीनु जरुरि हुन्छ ।
नेपालमा वयस्कहरुका लागि लक्षित केहि डाक्टरहरुले र्युमाटोलोजी विषयमा अध्ययन र विशेषज्ञता हासिल गरेपनि इम्युनोलोजी र बालबालिकाको र्युमाटोलोजीको हकमा भने यसबारे सेवा दिने विशेष विज्ञयुक्त अस्पताल र विशेषज्ञहरु हालसम्म थिएन । डा. भट्टराई यस विधाका प्रथम विशेष–विज्ञता (सुपर–स्पेसियालिटी) हासिल गर्ने नेपाली चिकित्सक हुन् ।