कोरोना अनुसन्धानको लागि चीन गएका विज्ञलाई प्रवेश रोक
एजेन्सी, २२ पुस । चीनले कोरोना भाइरस (कोभिड १९)को उत्पत्तिको विषयमा अनुसन्धानमा खटिएका विज्ञहरुलाई चीन प्रवेशमा रोक लगाएको छ ।
अनुसन्धानको लागि गएका दुई वैज्ञानिकलाई चीन प्रवेशमा रोक लगाइएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । चीनले भिसा नदिएको कारण एकजना वैज्ञानिक फर्किइसकेका छन् भने एकजना तेस्रो मुलुकमा रहेका छन् ।
डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयेससले मंगलबार चीनले डब्ल्यूएचओका वैज्ञानिकहरुलाई मुलुक प्रवेशको अनुमति नदिनु दुखद् भएको बताएका छन् ।
मंगलबार उनले भर्चुअल सम्मेलनमा बोल्दै यसअघि नै कोरोनाबारे अध्ययनका लागि चीनतर्फ लागेका दुई वैज्ञानिकले मुलुकमा प्रवेशको अनुमति नपाएको बताएका हुन् ।
यसअघि चीनले डब्ल्यूएचओले पठाएका अन्तर्राष्ट्रिय विज्ञहरुको समुहलाई मुलुकमा अनुसन्धान गर्न दिने बताएको थियो । डब्ल्यूएचओका प्रमुखले आफूले चिनियाँ अधिकारीहरुसँग यस विषयमा छलफल गरिराखेको र यो अनुसन्धानको लागि जोड दिँदै आएको बताएका छन् ।
सन् २०१९ को डिसेम्बरमा पहिलोपटक कोरोना भाइरस पहिचान भएको थियो । यस विषयमा अनुसन्धानको लागि लामो समयदेखि प्रयास भइरहेको भए पनि डब्ल्यूएचओले जनवरी महिनाबाट कोरोनाको उत्पत्तिबारे अनुसन्धान सुरु हुने बताएको थियो ।