भरतपुर अस्पतालको गुणस्तरीय सेवासँगै चौतर्फी विकासमा जोड दिएका छौंः नि.मेसु डा. तिवारी



Download our app to get more features

चितवन, १६ पुस । चितवनस्थित भरतपुर अस्पतालमा कार्यरत डा. जगन्नाथ तिवारीले गत मंसिरदेखि अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेन्टको जिम्मेवारी पाएका छन् । गत मंसिर ८ गतेको मन्त्रीस्तरको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको निमित्त प्रमुख मेसुमा डा. तिवारीलाई नियुक्त गरेको हो । 

दसौँ तहका मेडिकल जनरलिष्ट् चिकित्सक डा. तिवारी यसअघि यसै अस्पतालको ईमर्जेन्सि विभागका विभागीय प्रमुखको रूपमा समेत लामो समयदेखि कार्यरत थिए । 

भरतपुर अस्पतालमा आउनु अघि डा. तिवारीसँग अर्गाखाँची जिल्ला अस्पतालको प्रमुख एवम् जिल्ला स्वास्थ्य प्रमुख भएर ६ वर्ष काम गरेको अनुभव छ । डेढ दशक लामो समयदेखि सरकारी सेवामा कार्यरत उनी यसअघि त्यस बाहेक अन्य विभिन्न अस्पतालमा प्रमुखको जिम्मेवारी समेत सम्हालिसकेका छन् । डा. तिवारीसँग अस्पतालको विकास, सेवा प्रवाह लगायतका विषयमा गरिएको कुराकानीः

भरतपुर अस्पतालको मेसु छिटोछिटो परिवर्तन हुँदा अस्पतालको दीगो विकास हुन सकेन भन्ने गुनासो सुनिन्छ । यसैक्रममा तपाईंले निमित्तको जिम्मेवारी पाउनुभएको छ । कसरी जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ?
मेसु परिवर्तन एउटा प्रक्रिया हो । तर, छिटोछिटो परिवर्तन हुँदा स्वभाविक रुपमा जनताको गुनासो आउनु स्वभाविक हो । यसका नकारात्मक पाटाहरु पनि छन् । मैले अस्पताल प्रमुखका रुपमा अरु जिल्लामा कामसमेत गरे । यसअघि नै ४ वर्ष भरतपुर अस्पतालमा काम गरे । म चितवनको वासिन्दा नै हुँ । यो अस्पताल जसरी पनि बनाउनुपर्छ भन्नेमा दृढ छु । अस्पतालको बारेमा जानकार नै छु । ११ औं तह भएपछि मात्रै नेतृत्व लिने र अहिले अरु साथीहरुलाई नै मौका दिने मेरो चाहाना हो । तर, अकस्मात मलाई यो जिम्मेवारी प्राप्त भयो । अप्ठ्यारो परिस्थीतिमा स्वीकार गरेको हो । जिम्मेवारीबाट पछि हट्ने कुरा पनि भएन ।

अस्पतालमा विभागिय मन्त्रीपनि आएका थिए । किन भरतपुर अस्पताल आउनुभयो मन्त्री ज्यू ?
भानुभक्त ढकाल स्वास्थ्य मन्त्री हुँदा अस्पताल आउनुभएको थियो । उहाँ एकदमै सकारात्मक हुनुहुन्थ्यो । ११ औं तहकै मेसु चाहिन्छ भन्ने त्यस्तो केही छैन भन्नु भएको थियो । जसरी हुन्छ अस्पतालको विकास र जनताको गुणस्तरीय सेवा प्रवाहमा काम गर्नुपर्छ त्यो अवसर तपाईंलाई प्राप्त छ काम गर्नुस् भन्नुभएको थियो । केही बाधा अवरोध आए भन्नुस् भन्नुभएको थियो । तत्कालै अर्को मेसु पठाउने छैन, पूर्ण मेसुको अधिकारसहित काम गर्नुस् भन्ने नै उहाँको भनाइ थियो । तर, उहाँ आएर फर्केको केहि दिनमै मन्त्री फेरबदल भएका छन् । त्यसले कुनै फरक त पर्दैन । आशा छ मलाई नयाँ आउनुभएका मन्त्रीले पनि सहयोग गर्नु हुनेछ ।

मेसु बने लगत्तै दुई भवनको शिलान्यास र एचडियू सेवाको शुभारम्भ कसरी सम्भव भयो ?
मन्त्रालयले नै मंसिर १५ गते देशभरका स्थानीय तहमा अस्पतालको शिलान्यास एकैपटक गर्ने कार्यक्रम तय भएको थियो । मन्त्री ज्यू त्यसदिन भरतपुर अस्पताल आउनुभयो । हामी अझै खुसी छौं । अस्पतालको आकस्मिक कक्ष भवन र सरुवा रोग उपचार भवनको शिलान्यास भयो । आकस्मिक कक्ष भवनको काम धेरै अगाडि बढेको छ । अब केहीदिनमा टेण्डर हुन्छ । एक वर्षभित्र बनाउने भनेका छौँ । कम तीव्र गतिमा अघि बढ्छ । मन्त्री ज्यू नै आएर शिलान्यास गरेपछि थप चुनौती थपिएको छ । म आकस्मिक कक्षकै विषेशज्ञ चिकित्सक पनि भएको हुनाले आकस्मिक कक्ष भवन सबैभन्दा टड्कारो आवश्यकता छ । यो भवन अस्पतालको जीवनमा महत्वपूर्ण बन्ने छ । 

जग्गा प्राप्तिमा समस्या छ भन्ने चर्चा पनि सुनिन्छ नी ?
भरतपुर अस्पतालको आफूनो नाममा जग्गा छ । तर, भोगचलन अरुले गरेका छन् । हामीले अस्पतालको डी ब्लक भवनमा सरूवा रोग अस्पताल खोल्ने भनेका छौं । केही जग्गा स्कुल अफ हेल्थ साइन्सले उपभोग गरिरहेको ठाँउमा पनि पर्छ । प्रमुख जिल्ला अधिकारी ज्यूको नेतृत्वमा बसेको बैठकबाट जग्गा उपलब्ध गराउने भन्ने निर्णय भएको छ । उहाँहरुले आफना माथिल्लो आफनो निकायमा एकपटक जानकारी गराउने भन्नुभएको छ । हामीलाई तत्काल धेरै जग्गा त चाहिदैन । लालपूर्जा हाम्रो नाममा नै छ। जग्गा नपुगेर भवन नबन्ने भन्ने हुँदैन । नापजाँच सबै काम भैसकेको छ । काम रोकिदैन । गुरूयोजना अनुसार अन्य संरचना बनाउन जग्गाको अभाव भोलीका दिनमा हुनसक्छ । यसको दीर्घकालिन निकास खोजिनुपर्छ ।

अस्पतालले कोभिडको उपचार कसरी गर्दैछ ?
कोभिड सुरु भएदेखि नै कोभिड र नन्कोभिडका बिरामीलाई समानान्तर रुपमा सेवा दिएका छौं । पहिलाको संरचना त्यही नै हो । केही विभागको बेड कटौती गरेर सेवा दिएका छौं । भरतपुर अस्पतालप्रति नै जनताको बिश्वास पनि छ । हामीले ४३ बेडको एचडियू सेवा सुरु गरिसकेका छौँ । अहिले आइसियूमा बेड अभाव हुने अन्य बेड खाली हुने अवस्था छ । परिस्थिती हेरेर खुम्चिएको सेवालाई पुरानै अवस्थामा लैजाने प्रयास गर्नेछौं । 

म मेसु हुँदा कम्तीमा पनि यो यति नयाँ काम गर्छु भन्ने केही चित्र दिमागमा तयार गर्नुभएको छ ?
अहिले भैरहेको सेवालाई सुधार गरेर लैजाने, दैनिक सेवाहरुलाई प्रभावकारी बनाउने तिर मेरो बढी जोड छ । केही सेवा कोभिडको कारणले खुम्चिएको छ । न्यूरो, अर्थोलाई समस्या भाएको छ । सेवालाई पूर्णक्षमतामा लैजाने प्रयास गर्दैछौँ । दुई ठूला परियोजनालाई अघि बढाउने र निरन्तर लाग्ने सोच बनाएको छु । 

अस्पताल केन्द्रीय बन्यो तर पूर्वाधार र सेवा प्रवाह बढ्न सकेन, जनशक्ति सरकारले पठाएन भन्ने पनि छ नी ?
भरतपुर अस्पताल ६ सय बेडको केन्द्रीय अस्पताल हो । यहाँ जम्मा ३ सय बेड सरकारी स्वीकृती छ । दरबन्दी सबै गरेर जम्मा १ सय ७५ को छ । बाँकी ४ सयभन्दा बढि कर्मचारी रस्वास्थ्यकर्मी अस्पताल विकास समितिको दायित्वबाट चलेका छन् । निकै लामो समयदेखि ज्यालादारीमा राखेर काम गरिरहेका छौं । अस्पतालको आओएनएम सर्भे गर्ने र दरबन्दी बढाउनेतिर ध्यान केन्द्रीत गरेका छौँ । मन्त्रालयसँग पनि सोही अनुसार अनुरोध गरेका छौं । बिकास समितिको भारलाई काम गराउने, दरवन्दी बढाउने प्रकृयामा लाग्ने छौँ । शैक्षिक प्रतिष्ठानका रुपमा विकास गर्ने, अति विशिष्ट सेवा प्रदान गर्ने, औजार उपकरणहरू ल्याउनेमा हाम्रो बढ्ता ध्यान केन्द्रित हुनेछ ।

निर्माणाधिन ‘सी’ ब्लक र बिरामी कुरूवा भवन बनेर कहिले सकिन्छ?
बिरामी कुरुबा भवन पुष महिना भित्र नै सकिन्छ । कात्तिक, मंसिरमा नै हस्तान्तरण गर्ने कुरा थियो । तर ढिला भो । ‘सी’ ब्लकको पनि अझै काम बाँकी छ । आगामी असार महिना भित्र सकेर हस्तान्तरण गर्ने ठेकेदार पक्षले बताएको छ । यो भवन बनेपछि भरतपुर अस्पतालको स्वरुपमा जरुर परिवर्तन देखिने छ । हामी त्यसको प्रतिक्षामा छौं । 

भवन मात्रै बनेर भएन, सेवा प्रवाह प्रभावकारी भएन, विषेशज्ञ चिकित्सकहरु ओपीडिमा भेट्टाउन मुस्किल भो भन्ने गुनासा पनि आएका छन् नी ?
केही गुनासा हुने भने केहीमा सत्यता पनि छ । कोभिड भएपछि त्रास भएर केही डाक्टरहरु पनि डराएको अवस्था हो । कार्यकक्षमा नबस्ने प्रवृति पनि थियो । अहिले विस्तारै कमी आएको छ । निगरानी पनि गरिरहेका छौं । डिउटीमा बस्ने वातावरण बनाउँदै छौं । अहिले त बिरामी पनि कम छन् । अन्यत्रबाट यहाँ रिफर भएर आउने विरामीलाई केन्द्रीय अस्पताल आउँदा दक्ष विषेशज्ञ चिकित्सकबाट नै उपचार सेवा दिनुपर्छ भन्नेमा दृढ छौं । डाक्टर सावहरूले पनि सोही अनुसारको सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।

कोरोना परीक्षण ल्याव अस्पताल भित्र नै सार्ने कुरा कहाँ पुग्यो ?
अहिले अस्पताल भित्र संरचना बनाइरहेका छौं । भित्र सार्ने तयारी भैरहेको छ । अबको एक महिनाभित्र ल्याव बनिसक्छ । सी ब्लकमा सार्ने की भनेर केही ढिला भएको हो । तर, भवन बन्न ढिला भएपछि पुरानै भवनमा संरचना बनाउँदै छौं ।

तीनै तहका सरकारसँग समन्वय गरेर अस्पतालको विकासमा संलग्न गराउने कस्तो नीति लिनुभएको छ ?
तीन तहका सरकारहरुसँग बरावरी समन्वय गर्ने, अस्पतालको भौतिक र सेवा प्रवाह गुणस्तर बनाउन सहयोगको अपेक्षा राख्ने काममा कमी हुँदैन । केन्द्रीय अस्पताल हो केन्द्रले नै गर्छ भन्ने मानिसकता पनि देखेँ । केन्द्रीय लेभलको अस्पताल गुणस्तरीय सेवा र उपचारका लागि भएको हो । सेवा लिनेजनता त यहीँका स्थानीय हुन् । त्यसैले सकेको सहयोग सबैले गर्नुमाछ आउने दिनमा पनि जारी राख्नुहुन्छ भन्ने विश्वास छ । अस्पतालमा बर्खाको बेलामा ढल निकासको समस्या छ । भरतपुर महानगरपालिका प्रमुखसँग अनुरोध गरेका छौं ।

फोहर व्यवस्थापन लगायतका काम अस्पतालले कसरी गर्दै आएको छ ?
अहिले हामीले हरेक हप्ताको शनिबार अस्पताल सरसफाई अभियान चलाएका छौं । बिहान ७ बजदेखि ८ बजेसम्म विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा सरसफाई जारी राखेका छौँ । सबैले आआफूनो ठाँउबाट साथ दिनुहुन्छ भन्ने विश्वास छ ।

Last modified on 2021-01-01 07:53:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts