भारत विश्वको दोस्रो मुलुकः जहाँ कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो
१ लाख ४५ हजारभन्दा बढीको मृत्यु
भारत, ४ पुस । भारतमा कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घन्टामा थप २६ हजार ९ सय ९१ संक्रमित फेला परेका छन् । नयाँ संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या एक करोड ४ हजार ८ सय २५ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप ३ सय ४२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ४५ हजार १ सय ७१ पुगेको छ ।
भारतमा हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये ९५ लाख ५० हजार ७ सय १२ जना स्वस्थ भएका छन् । यो दर कुल संक्रमितको ९९ प्रतिशत हो ।
भारत अमेरिकापछि विश्वकै दोस्रो मुलुक हो जहाँ कोरोनाका कारण संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । अमेरिका विश्वकै पहिलो मुलुक हो जहाँ कोरोनाका कारण १ करोड ७८ लाखभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने ३ लाख २० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।