अमेरिकामा पनि फाइजरको खोप लगाएका दुई जना बिरामी



Download our app to get more features

एजेन्सी, ३ पुस । अमेरिकामा फाइजर र बायोएनटेकले विकास गरेको कोरोना विरुद्धको खोप लगाउने दुई जना बिरामी भएका छन् । 

अमेरिकाको अलास्का शहरमा रहेको एक अस्पतालका दुई जना स्वास्थ्यकर्मी खोप लगाउनासाथ बिरामी भएका छन् । 

न्यूयोर्क टाईम्सका अनुसार बिरामी भएका एक जना स्वास्थ्यकर्मी मध्यम आयु वर्गकी महिला हुन् । उनमा पहिले कुनैपनि एलर्जी सम्ब्न्धी समस्या थिएन । तर, कोरोना विरुद्धको खोप लगाएको १० मिनेटमै उनको स्वास्थ्यमा समस्या देखिन थाल्यो । 

बार्टलेट रिजनल अस्पतालमा कार्यरत ती महिलाको अनुहार र घाँटीको भागमा र्यासेज आएको छ भने श्वास फेर्नमा पनि समस्या भएको र मुटुको गति तीव्र बनेको बताइएको छ ।
 
अस्पतालको आपातकालीन विभागका चिकित्सा निर्देशक डाक्टर लिन्डी जोन्सका अनुसार  महिलालाई पहिले एलर्जीको औषधि एपिनेफ्रीन दिइएको थियो । औषधि सेवन पछि उनको लक्षण केहि कम भएपनि केहि समयपछि फेरि समस्या सुरु भएको थियो ।

यस्तै अस्पतालका अर्का स्वास्थ्यकर्मीलाई खोप लगाएको १० मिनेटमै आँखा सुन्निएको, रिंगाटा लाग्ने, खोकी हुने जस्ता समस्याहरु देखिएको थियो । 

यसअघि बेलायतमा पनि फाइजरको खोप लगाउँदा मानिसहरु बिरामी भएका थिए । पछि बेलायती राष्ट्रिय स्वास्थ्य निकायले चेतावनी जारी गर्दै यस्ता समस्या देखिएमा तुरुन्त खबर गर्न आग्रह गरेको थियो ।
यस्तै अमेरिकाले पनि खोप लगाएकाहरुमा कुनै पनि किसिमको स्वास्थ्यमा समस्या देखिए तत्काल खबर गर्न भनेको छ । 

अमेरिकामा एक हप्ता अघि मात्रै फाइजरको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिइएको हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts