फाइजरले विकास गरेको कोरोना विरुद्धको खोपको आपतकालीन प्रयोग गर्न अमेरिकामा पनि अनुमति
एजेन्सी, २७ मंसिर । अमेरिकामा पनि फाइजरले विकास गरेको कोरोना विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।
अमेरिकी खाद्य तथा औषधि नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाभाइरस विरोधी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।
खोपलाई अनुमति दिन एफडीएलाई ट्रम्प प्रशासनले दबाव दिएको बताइएको छ ।
एफडीएका प्रमुख स्टेफन हानलाई शुक्रवारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको अमेरिकी सञ्चारमाध्यमका विवरण आएको थियो । हानले यसलाई असत्य भएका छन् ।
राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने बताएका छन् ।
स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमवार वा मङ्गलवाटबाट खोप कार्यक्रम शुरू गर्ने बताएका छन् ।
बिहीवार एफडीएको विज्ञ समूहले आपत्कालीन प्रयोगका लागि खोपलाई स्वीकृति दिन सुझाव दिएका थिए । २३ सदस्यीय समितिले खोपका जोखिमभन्दा फाइदा बढी भएको बताएका थिए ।
यसअघि फाइजरको खोपलाई बेलायतमा अनुमति दिइसकिएको छ ।