कोरोनाको जोखिम उच्च देखिएपछि चिनियाँ पाइलटलाई डायपर लगाउन सुझाव
बीबीसी, २७ मंसिर । चीनको वायुसेवाको नियामक संस्थाले हवाई उडानका क्रममा शौचालय कम प्रयोग गरे कोभिड-१९ को जोखिम पनि कम हुने भन्दै विमान चालकदलका सदस्यहरूलाई 'डाइपर' लगाउन सुझाव दिएको छ ।
वायुसेवाहरूलाई दिइएको नयाँ निर्देशिकामा रहेको व्यक्तिगत सुरक्षा सामग्रीसम्बन्धी खण्डमा पिसाबलाई सोस्ने 'न्यापी' लगाउने सुझाव छ ।
नियामक संस्थाले त्यो सुझाव उच्च जोखिम क्षेत्रमा हुने चार्टर्ड उडानका लगि भएको बताएको छ ।
विश्वभर वायुसेवा र विमानस्थलहरूले पुन: सञ्चालनमा आउनका लागि सुरक्षाको विषयलाई ध्यानमा राखेर विभिन्न प्रकारका ठूला ठूला परिवर्तनहरू गरिरहेका छन् ।
चीनको नागरिक उड्डयन व्यवस्थापन संस्थाले कोरोनाभाइरस सङ्क्रमण कम गर्न वायुसेवाहरूलाई ४९ पानाको निर्देशिका प्रकाशित गरेको छ ।
डाइपरसम्बन्धी निर्देशिका प्रति दशलाखमा ५ सयभन्दा बढी सङ्क्रमित भएका क्षेत्रमा हुने चार्टर्ड उडानहरूमा लागु हुन्छ ।
यसका साथै चालकदलका सदस्यहरूलाई मास्क, पञ्जा, टोपी, चस्मा, पिपिइ र जुत्ता छोप्ने कपडा लगाउन सुझाइएको छ ।
यात्रुसँग प्रत्यक्ष सम्पर्कमा नआउने विमानचालकहरूलाई भने अन्य सुरक्षा उपाय अपनाउन भनिए पनि 'न्यापी' लगाउने सुझाव दिइएको छैन ।
विश्वभर नै महामारीले गर्दा थला परेका वायुसेवा कम्पनीहरू पुन: सेवामा फर्कन सङ्घर्ष गरिरहेका छन् ।
कोरोनाभाइरस सङ्क्रमणको जोखिम कम गर्न देश अनुसार फरक नियमहरू लगाइएका छन् ।
कतिपय देशमा मास्क अनिवार्य गरिएको छ भने कतिपय देशमा दुई यात्रुबीच एउटा सिट खाली हुनुपर्ने नियम छ ।