बेलायतमा फाइजरको खोप लगाएका दुई जना बिरामी, सरकारले जारी गर्यो चेतावनी
एजेन्सी, २५ मंसिर । बेलायतमा फाइजरले विकास गरेको कोरोना विरुद्धको खोप लगाएपछि दुई जना बिरामी भएका छन् । मंगलवार अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले बनाएको कोरोना विरुद्धको खोप लगाएको पहिलो दिनै दुई जना बिरामी भएका छन् । बिरामी भएका दुबै जना स्वास्थ्यकर्मी हुन् । दुबै जनामा खोपले एलर्जी रिएक्शन देखिएको छ । डेली मेलको रिपोर्ट अनुसार बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले खोपले दुई जना बिरामी भएको विषयमा पुष्टि गरेको छ ।
कोरोना विरुद्धको खोप लगाएपछि स्वास्थ्यकर्मीहरु Anaphylactoid reactions बाट पीडित भएका छन् । खोपका कारण बिरामी परेपछि बेलायतको रेग्यूलेटरी एजेन्सीले चेतावनी जारी गर्दै कुनैपनि व्यक्ति जसलाई कुनै औषधि, खाना वा खोपले पर्याप्त एलर्जी भएमा उनलाई फाइजरको खोप नदिनका लागि भनेको छ ।
बेलायतमा स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई सबैभन्दा पहिले फाइजरले बनाएको कोरोना विरुद्धको खोप दिइँदैछ । यसैबीच, एनएचएसका नेशनल मेडिकल डाइरेक्टर प्रोफेसर स्टीफन पोविसले खोपले एलर्जीको सामना गर्नु परेका दुबै जना राम्रो तरिकाले स्वस्थ हुँदै गएको बताए । उनले दुबै जनामा एलर्जीको समस्या पहिलेदेखि नै रहेको पनि बताए ।
बेलायतमा अहिले प्रायः जसो ८० भन्दा बढी उमेर समूहका मानिसमा फाइजरको खोप दिने क्रम जारी छ । जसका लागि बेलायतमा ५० वटा खोप केन्द्र बनाइएको छ । बेलायत पूर्ण रुपले विकसित कोरोना विरुद्धको खोपको माध्यमबाट सर्वसाधारणलाई खोपको डोज दिन थालेको विश्वकै पहिलो मुलुक हो । अमेरिकाले अहिलेसम्म फाइजरको कोरोना विरुद्धको खोपको प्रयोगमा अनुमति दिएको छैन । फाइजरले कोरोना विरुद्धको खोप परीक्षणका लागि अमेरिका र बेलायतसँग अनुमति मागेको थियो ।
पहिलो चरणमा बेलायतले फाइजरको ८ लाख डोजको प्रयोग गर्ने तयारीमा छ । तर, बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्याङ्ककले क्रिसमससम्म बेलायसँग दशौं लाख खोपको डोज हुने बताएका छन् ।