पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने बाइडेनको प्रतिवद्धता
बीबीसी, २४ मंसिर । अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन् ।
उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड-१९ को बाटो भने मोड्ने बताए । उनले आफ्ना रणनीतिबारे थप बताएका छैनन् ।
२० ज्यानुअरीमा कार्यकाल सुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई '१०० दिनसम्म मास्क लगाउन' आग्रह गरे ।
एफडिएको एउटा प्रकाशनमा सो खोपका परीक्षणका विवरण 'भरपर्दो' रहेको उल्लेख गरिएको छ ।
अमेरिका र यूके दुवै देशलाई उत्पादकहरूले खोपको सुरक्षा र प्रभावकारिताबारेको विशिष्ठ तहका जानकारी उपलब्ध गराइएका थिए ।
गतसाता अमेरिकाका शीर्ष सङ्क्रामक रोगविज्ञ डा एन्थोनी फाउचीले यूकेको खोप स्वीकृति दिने प्रक्रियाको आलोचना गरेको देखिएको आफ्नो भनाइका लागि माफी मागेका थिए ।
पछि उनले बीबीसीसँग अमेरिकी प्रक्रियाले 'यूकेको भन्दा बढ्ता समय लिने सत्यता रहेको' भन्दै आफूले त्यो जसरी स्वीकृत भएर आयो त्यसलाई आफूले खराब नठानेको बताएका थिए ।
एफडिएले प्रकाशित गरेको विस्तृत सामग्रीमा उसले उत्पादक कम्पनी फाइजरले भने जत्तिकै ९५ प्रतिसत प्रभावकारी रहेको जनाएको हो ।
मङ्गलवार नै अमेरिकी नियामकले फाइजर/बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ ।
त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ ।
अमेरिकामा खोप के हुँदैछ ?
खाद्य तथा औषधि निकाय एफडिएले सुरक्षाका कारण फाइजर/बायोएनटेकको खोपलाई स्वीकृति दिन रोक्नुपर्ने कुनै कारण नभेटिएको जनाएको हो ।
यूकेमा गतसाता स्वीकृति दिएर धेरै जनामा लगाउन सुरु गरिसकिएको यो खोपबारे अमेरिकाले पहिलोपटक यो तहमा बोलेको हो ।
औपचारिक निर्णयका लागि एफडिएले बिहीवार एउटा बैठक गर्दैछ ।
कति सुरक्षित ?
तर पूर्ण सुरक्षाका लागि दुईवटै डोज आवश्यक पर्ने एफडिएले जनाएको छ ।
पहिलो डोजले निकै गम्भीर घटनामा ८९ प्रतिसत सुरक्षा दिने उसले जनाएको छ । र खोपले कोभिड सङ्क्रमित भइसकेकालाई जत्तिकै यस खोपले सुरक्षा दिने बताइएको छ ।
उसले यो खोप लिनेले धेरै व्यहोर्ने समस्या भनेको दु:खाई, खोप लगाइने भाग पाखुरामा रातो डाम र सुन्निने समस्याहरू देखिन सक्ने जनाएको छ ।
त्यसपछि छोटो समयका लागि थकान, टाउको दुख्ने र मासु दुख्ने समस्या समेत देखिन सक्छ । तर यी सामान्य प्रभाव बाहेक अध्ययन गरिएको बेला खोप लगाइएका र नियन्त्रित समूहका व्यक्तिहरूबिचमा स्वास्थ्य अवस्थामा कुनै उल्लेख्य फरक देखिएको थिएन ।
गर्भवती महिला र १६ वर्ष मुनिका बालबालिकाहरूमा यसको जाँच नगरिएकाले त्यो उमेर समूहमा त्यसले अझै स्वीकृति पाउने काम बाँकी छ ।
ट्रम्पको कार्यकारी आदेश
राष्ट्रपति ट्रम्पले अमेरिकामा निर्मित खोपमा अमेरिकी नागरिकहरूलाई पहिलो प्राथमिकता दिइने काम सुनिश्चित गर्नका लागि एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
अन्य देशमा खोप पठाउने सम्झौता गरिसकेका उत्पादकहरूका हकमा उक्त आदेशले कसरी काम गर्छ भन्ने अझै स्पष्ट छैन ।
उनले केही दिनमा नियामक खाद्य तथा औषधि निकायले खोपको प्रयोगका लागि स्वीकृति दिनेमा आफू आशावादी भएको बताए ।
उनले धेरैलाई एकसाथ खोप लगाउनका लागि अधिकारीहरू तम्तयार भएर बसेको बताए ।