दिल्लीमा सुरु भएको कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणमा
भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ४० हजार नाघ्यो

भारत, २१ मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ४४ हजार नाघेको छ ।
भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३६ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै भारतमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ९६ लाख ४४ हजार ५ सय २९ पुगेको छ ।
यस्तै गत २४ घन्टामा थप ४ सय ८० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणका कारण विश्वकै दोस्रो प्रभावित मुलुकमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ४० हजार २ सय १६ पुगेको छ ।
यस्तै भारतमा हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये ९० लाख ९९ हजार ९ सय ४६ जना स्वस्थ भएका छन् भने सक्रिय संक्रमितको संख्या ४ लाख ४ हजार ३ सय ६७ रहेको छ ।
यसैबीच, भारतको राजधानी दिल्लीमा कोरोना संक्रमणको दरमा कमी आएको छ । कोरोना संक्रमणको दोस्रो चरणको लहर सुरु भएको राजधानी दिल्लीमा लगातार दोस्रो दिन कोरोनाको सक्रिय संक्रमितको दर ५ प्रतिशतभन्दा कम रहेको छ ।
भारतीय समाचार संस्थाहरुका अनुसार पछिल्लो २४ घन्टामा दिल्लीमा ३ हजार ४ सय १९ नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमित थपिएसँगै दिल्लीमा कोरोना संक्रमितको संख्या ५ लाख ८९ हजार ५ सय ४४ पुगेको छ । २४ घन्टामा थप ७७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै दिल्लीमा मात्रै कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय ७४ पुगेको छ ।
राजधानी दिल्लीमा यसअघि कोरोना संक्रमण नियन्त्रणमा आइसकेपछि प्रतिबन्धहरु हटाइएको थियो । प्रतिबन्ध हटाइएको केही समयपछि फेरि संक्रमणको दोस्रो लहर सुरु भएपछि सरकारले फेरि त्यहाँ कडाईं गरेको छ ।