कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई लिन बाध्य नबनाइनेः बाइडेन
बीबीसी, २० गते । अमेरिकामा राष्ट्रपति–निर्वाचित जो बाइडनले कोभिड–१९ विरुद्धको खोप उपलब्ध भएको अवस्थामा नागरिकहरूलाई त्यो लिन बाध्य नबनाइने बताएका छन् ।
आफ्नो घरबाहेक बन्द कोठा भएका जुनसुकै स्थानमा मास्क लगाउन सेन्टर्स फर डीजिज कन्ट्रोल (सीडीसी) ले पहिलो पटक आग्रह गरेपछि बाइडनले त्यस्तो बताएका हुन् ।
सीडीसीले अमेरिका कोरोनाभाइरसको “उच्च दर रहने समयमा प्रवेश गरेको” बताएको छ ।
शुक्रवार अमेरिकामा २ हजार ५ सय सङ्क्रमितको मृत्यु र झन्डै २ लाख २५ हजार जनामा सङ्क्रमण पुष्टि भएको छ ।
अहिलेसम्म त्यहाँ १ दशमलव ४३ करोड मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन् । त्यस्तै मृत्यु हुनेको कुल सङ्ख्या २ लाख ७९ हजार छ ।
ज्यानुअरी २० तारिखमा पदभार ग्रहण गर्न लागेका बाइडनले उक्त समारोहमा ठूलो भिड नहुने अपेक्षा गरेको बताएका छन् ।
खोपबारे बाइडनको नीति
क्लिनिकल परीक्षणले आफूले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखाएको बताउने फाइजर र ९४ प्रतिशत प्रभावकारी रहेको बताउने मोडेर्ना दुवैले खोप वितरणका लागि अनुमति माग गर्दै फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशनमा आवेदन दिएका छन् ।
फाइजरले बनाएको खोपको प्रयोगलाई विश्वमै पहिलो पटक बुधवार यूकेले अनुमति दिएको थियो ।
शुक्रवार अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अबको एक हप्तामा कोभिड–१९ खोपलाई अनुमिति दिने विषयमा टुङ्गोमा पुग्ने बताएका थिए । तर, राष्ट्रपति–निर्वाचित बाइडनले भने कोरोनाभाइरस विरुद्धको खोपलाई अनिवार्य बनाउन आवश्यक नपर्ने टिप्पणी गरेका छन् ।
पीउ रिसर्च सेन्टरका अनुसार ६० प्रतिशत अमेरिकीहरू मात्रै कोरोनाभाइरसविरुद्ध खोप लिन तयार देखिन्छन् । उक्त सङ्ख्या गत सेप्टेम्बर महिनामा ५१ प्रतिशत थियो ।
बिहीवार सीएनएनसँग बोल्दै बाइडनले खोपबारे व्यक्त गरिएका सम्भावित चिन्ता कम गराउने पहलस्वरूप आफू सार्वजनिक रूपमा खोप लिन तयार रहेको बताएका थिए ।
अमेरिकाका तीन पूर्वराष्ट्रपति बराक ओबामा, जर्ज डब्ल्यू बुश र बिल क्लिन्टनले पनि आफूहरू सार्वजनिक रूपमा खोप लिन तयार रहेको बताएका छन् ।
बाइडनले अमेरिकीहरूलाई एक सय दिनसम्म मास्क लगाउन आफ्नो आग्रह दोहो¥याएका छन् ।