फ्रान्समा सबै नागरिकलाई निःशुल्क कोरोना खोप लगाउने घोषणा
एजेन्सी, २० मंसिर । फ्रान्सले आफ्ना सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिने घोषणा गरेको छ।
प्रधानमन्त्री जाँ कार्तेक्सले यस्तो घोषणा गरेका हुन्। उनका अनुसार जनवरीमा प्रारम्भिक चरणमा स्वास्थ्य संस्थामा रहेका १० लाख व्यक्तिलाई खोप लगाउन सुरु गरिने छ।
फेब्रुअरीमा संक्रमणको उच्च जोखिममा रहेका १ करोड ४० लाख नागरिकले खोप लगाउन पाउने तयारी सरकारले गरेको उनले जनाएका छन्।
उक्त खोप अभियानबारेको प्रस्ताव युरोपेली संघको नियामक संस्था युरोपियन मेडिसिन एजेन्सीमा विचाराधीन रहेको र त्यहाँबाट स्वीकृति मिल्नेबित्तिकै सुरु गरिने उनले बताए ।
फ्रान्सको सामाजिक सुरक्षा प्रणालीमा रहेका सबैलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिन सुनिश्चित गर्ने र त्यसका लागि १ अर्ब ५० करोड युरो छुट्याइएको सरकारको दाबी छ।
फ्रान्सले २० करोड थान खोप विभिन्न उत्पादक कम्पनीहरूबाट व्यवस्था गरेको उनले बताए। उनले यी खोपहरू सुरक्षित र प्रभावकारी हुने पनि आश्वस्त पारेका छन् ।